Breaking

प्रचण्डका सहयात्री पाका र पुराना, जनताको निराशा आशामा बदल्ने अठोट, पुरा गर्लान् त बाचा ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार सातौ पटक मन्त्रिपरिषद पुनर्गठन गरे । यसअघि भाग पु¥याउनकै लागि नयाँ र आलाकाँचालाई मन्त्री बनाएका प्रचण्डको यस पटक भने अधिकांश पटकपटक मन्त्री भएका पूराना अनुहारहरु अटाएका छन । मन्त्रीहरूले पदभार ग्रहणसँगै आफ्नो प्रतिवद्धता समेत जनाएका छन् । तर के नवनियुक्त मन्त्रीहरुले जनताको निराशा आशामा बदल्न कति सक्छन आफैमा आशंका छ ।

तीन महिनाको अवधिमा सातौ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह, अर्थ, रक्षा, उर्जाजस्ता महत्वपूर्ण मन्त्रालयमा पटक–पटक मन्त्री भएका पुराना र अनुभवी व्यक्तिहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । पञ्चायतकालदेखि गणतन्त्रसम्मै पटकपटक मन्त्री बन्ने अवसर पाएका शरतसिंह भण्डारीदेखि पटकपटक मन्त्रीको कुर्शी सम्हालेकाहरु प्रचण्डको सहयात्री बनेका छन ।

एकाध बाहेक खारिएका, पाका र प्रभावशाली नेताहरु प्रचण्डको मन्त्रीमण्डलमा छन । यसअघि आलाकाँचा अनुभव नभएका नयाँ अनुहारलाई भाग पु¥याउनकै लागि मन्त्री बनाइएको आरोप खेपेका प्रचण्डले यो पटक अधिकांश अनुभवी मन्त्री पाएका छन । जनताको निराशालाई आशामा बदल्ने गरी काम गर्ने अठोट नवनियुक्त मन्त्रीहरुको छ ।

उर्जा मन्त्री बन्ने हल्लाकाबीच एकाएक अर्थमन्त्री बनेका नवनियुक्त मन्त्रीको यो उर्जा स्वभाविक छ । तर कार्यन्वयन कति गर्छन लेखाजोखा हुने नै छ । बजेट निर्माणको संघारमा रहेको अर्थ मन्त्रालय आफै चरम आर्थिक संकटको भुमरीमा छ । मुलुकको आर्थिक सुचक सकरात्मक छैन । शिक्षा क्षेत्रको वेथितिसँगै नयाँ शैक्षिक–सत्रको पूर्वसन्ध्यामा शैक्षिक क्षेत्रको चुनौती कम छैन । गृहमन्त्रालय स्वत चुनौतीको चाङमा छ ।

चुनावपछि गठन भएको नयाँ सरकारसँग तीन महिनाको अवधिमा जनताको आशा निराशामा बदलिसकेको छ । सरकारसँग अपेक्षा शुन्य छ । नयाँ मन्त्री पाउँदैमा जीवनस्तरमै बदलावको आशा जनतामा छैन । अझ पटक–पटक परीक्षण भईसकेका मन्त्रीहरु फेरी मन्त्री बन्दैमा जनतामुखी हुन्छन् भन्नु युक्तिसंगत नहुन पनि सक्छ । नेतृत्व देश र जनताका लागि भन्दा सत्ताकै भुक्तभोगी भएकाले अपेक्षा शुन्य छ । मन्त्रालय र मन्त्रीहरु पनि उही आफ्नो दुनो सोझ्याउनै केन्द्रित हुने विश्लेषण सुरु भईसकेको छ ।

प्रधानमन्त्री दाहालको पुनर्गठित मन्त्रीमण्डलमा उपत्यकाले पनि मन्त्री पाएन । तीनजना महिला अटाए पनि दलितको उपस्थिति शुन्य रह्यो । यही कारण सरकारको आलोचना जारी छ । अर्कोतर्फ कार्यकर्ता पोस्ने सस्तो लोकप्रियताकै लागि गरिने स्टन्ट के कसरी अगाडि बढ्छ लेखाजोख हुने नै छ । मन्त्री आफैमा नयाँ पुराना, अनुभवी वा आलाकाँचा भन्दापनि जनसाधारणमा कति सहज छुन त्यो अर्थपूर्ण हुनेछ । यसतर्फ सरकारसँगै मन्त्रीहरुको ध्यानाकर्षण अपरिहार्य छ ।