विदेश

आर्थिक संकटका कारण दैनिकी चलाउनै मुस्किल, ऋणकै कारण मुलुक टाट पल्टिदै


काठमाडौँ — पकिस्तानको कराचीस्थित एक कारखानामा निशुल्क खाद्यान्न वितरण गर्ने क्रममा भागदौडमा परि १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन् । घटनामा कैंयो मानिस बेहोस् भएका छन् । राजनीतिक अस्थिरताले घेरिएको पाकिस्तान अहिले आर्थिक रुपमा समस्याग्रस्त छ । जलवायु परिवर्तन, कोभिड–१९ महामारी, युक्रेनमा जारी युद्व, विश्वव्यापी आर्थिक मन्दी र आन्तरिक राजनीतिक अदूरदर्शिताले पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेक्ने अवस्थामा पु¥याएको छ । बढ्दो इन्धनमूल्यले त्यहाँको हरेक वस्तु र सेवाको मूल्यवृद्धि गराउँदै लगेकाले जनताको अवस्था नाजुक देखिन्छ । विशेषगरी गरिव र न्यून मध्यमवर्ग हरेकतिरबाट पिल्सिएका छन ।

पाकिस्तानमा हाल महँगीको दर ३० प्रतिशतले बढिरहेको छ । यो तथ्यांकले आम मानिसको जीवनमा प्रत्यक्ष असर पारेको छ । हाल पाकिस्तानमा गहुँको मूल्य प्रतिकेजी १५० रुपैयाँ, दाल ३०० रुपैयाँ, प्याज २२० भन्दा बढी छ । पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको मुद्रास्फीतिबाट गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ । निशुल्क राहत दिने क्रममा शुक्रबार कराचीस्थित एक कारखानामा भागदौडमा परि १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन् ।

निःशुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको र कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ । पछिल्लो समय पाकिस्तानी अर्थतन्त्र सेना र शक्तिशाली कुलीनहरूको जालमा परेको देखिन्छ  । उनीहरूको स्वार्थपूर्ति गर्ने क्रममा अर्थतन्त्रमा प्वाल परिरहेको छ र अन्तर्राष्ट्रिय दाता गुहार्नुपर्ने अवस्था आएको छ  । ऋण बढ्दो छ र अर्थतन्त्र कोेल्याप्स हुने अवस्थामा । अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई सहयोग नगरेको अवस्थामा पाकिस्तान थप ऋणको दलदलमा फस्ने र टाट पल्टिने सम्भावना धेरै छ ।