Breaking

एमाले–काँग्रेस पत्तासाफ गर्न रविका दुई दोस्ती, स्वर्णिम र खरेलको सामना गर्न ठूला दललाई कति चुनौती ?


काठमाडौँ — बैशाख १० को उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छ । जहाँ सभापति रवि लामिछानेसहित भर्खरै पार्टी प्रवेश गरेका स्वर्णिम वाग्ले र रमेश खरेल उम्मेदवार बनेका छन् । देश बनाउन हिँडेका रवि लामिछानेपार्टी गठनको छ महिनामै अप्रत्यासित ढंगले उपप्रधान हुँदै गृहमन्त्री बन्न पुगेपछि नागरिकता मुद्धामा गएर रोकिए । मंसिर ४ को निर्वाचनमा स्वर्णिम वाग्ले काँग्रेसको घोषणा लेख्न व्यस्त भएका बेला रमेश खरेल ‘काखमा बच्चा च्यापेको आमा’को सेन्टीमेन्ट बोकेर चुनावमा होमिएका थिए ।

रास्वपाका सभापति लामिछानेले आफ्नै पार्टीबाट चुनाव लड्न आग्रह गर्दा आफ्नै जगमा उभिएर संसद छिर्ने भन्दैप्रस्ताव लल्कारेका थिए । तर बैशाख १० को उपचुनावसम्म आइपुग्दा जग नै लिएर खरेल रास्वपाकै उम्मेदवार बन्न तयार भएका छन् । यता कांग्रेस छाडेका स्वर्णिमको सपना पनि रास्वपामा पुरा हुने भएको छ । जसलाई सभापति रवि लामिछानेले तीन भाईको नाम दिएर माटोका लागि पनि हार्ने हराउने छुट नभएको बताएका छन् ।

काँग्रेसमा देश बनाउने अवसर नपाएकै कारण रास्वपा भित्रिएका स्वर्णिमले पनि आफ्नो विज्ञताको छनक पहिलो पत्रकार सम्मेलनमै दिए । सुशासनबाट मात्रै आर्थिक फड्को मार्ने सकिने टिप्स दिएका उनले खर्चिलो चुनाव र महंगो टिकट किचबेचको लगानी उठाउनेतर्फमात्रै ध्यान जाँदा लोकतन्त्र विकृत बनेको दाबीसमेत गरे ।पूर्वकाँग्रेसी भएकै आधार र आफ्नो विज्ञताको बलमा पनि चुनाव जित्ने विश्वास स्वर्णिमको छ ।

आफ्नै नेतृत्वको पार्टी हुँदाहुँदैपनि रास्वपाको उभारमा लोभिएका रमेश खरेल पनि देश बनाउने चाहनामा असफल हुँदै आएका पात्र हुन् । यसअघि काठमाडौं १ बाट उम्मेदवारी दिएर संसद प्रवेशको प्रयास गरेपनि पाँचौं विजेताका रुपमा सीमित बनेपछि उपचुनावलाई मौका बनाएर फेरि मैदानमा उत्रिएका छन् । प्रहरी संगठनमा २९ वर्ष परीक्षण भएकै आधारमा आफुलाई जनताले जिताएर पठाउने विश्वास लिएका छन् ।

सभापति लामिछाने यसअघि नै निर्वाचित भएको क्षेत्र चितवन २ को उम्मेदवार बनेका छन् ।स्वर्णिम तनहुँ १ मा उम्मेदवार बन्दा बारा २ मा रास्वपाले खरेललाई टिकट दिएको छ । मंसिर४ को निर्वाचनमा सर्वाधिक मतान्तर बनाएकै कारण पनि लामिछानको जित्ने सम्भावना बलियो छ । उनका निकटतम् प्रतिद्वन्द्वी झण्डै ३४ हजार बढीले पछि परेका थिए । तर तनहुँमा रास्वपालाई चुनाव जित्न सहज छैन । २५ हजार मतले रामचन्द्र पौडेल निर्वाचित बन्दै गर्दा रास्वपाले ६ हजार मत मात्रै ल्याएको थियो ।

त्यसले यहाँ ठूलो कसरतबिना स्वर्णिमले चुनाव जित्ने अवस्था कमजोर छ । बारा २ मा भने रास्वपाले उम्मेदवारी नै दिएको थिएन । यसअघि नै एकको बद्ला तीन लिएर संसद प्रवेश गर्ने उद्घोष गरेका लामिछानेले सबैभन्दा ठूलो पार्टी बनाउने दाबी पनि गरेका छन् । तथापीजान्नेलाई छान्ने नारा बनाएको रास्वपाले दुई चर्चित र काबिल अनुहारलाई साथमा लिएर हिँडेपछि ओज भने बढेको छ ।