काठमाण्डौँ — नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेको हो ।
कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेको छ । आठ जना मन्त्री पाएको कांग्रेसले चार जना मन्त्री पठाएको छैन । यस्तै माओवादी केन्द्रबाट शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षसमेत रहेका बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास मन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नपाएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिएको छ ।
सरकारले अझै पूर्णता भने पाएको छैन । प्रधानमन्त्री प्रचण्डसँग अझै कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।
प्रतिक्रिया