Breaking

चीनको चेतावनीबीच ताइवानकी राष्ट्रपति अमेरिकी भ्रमणमा, कसैको दबाबमा नबस्ने ताइवानको भनाई


कठमाडौँ — ताइवानकी राष्ट्रपति साई इंग–वेन चीनको आलोचनाबीच अमेरिकी प्रान्त न्युयोर्क पुगेकी छिन् । साई इंग–वेनको भ्रमणसँगै चीनले अमेरिकालाई भ्रमणको नतिजा गम्भीर हुने चेतावनी दिएको छ । चीन र ताईवानको सम्बन्ध फेरि चिसिने सम्भावना बढेको छ । चीनको चेतावनीवीच ताइवानकी राष्ट्रपति न्युयोर्क पुगेकी छिन् । आफ्नो भ्रमणको क्रममा उनले अमेरिकी संसद्को प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ । यस्तो खालकोे बैठकको निन्दा गर्दै चीनले यो बैठक भयो भने गम्भीर द्वन्द्व निम्त्याउन सक्ने बताएको छ ।

चीनले ताइवानका राष्ट्रपति साईले अमेरिका भ्रमणका क्रममा त्यहाँको तल्लो सदनका सभामुखलाई भेटेमा त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ । राष्ट्रपति साई आफ्ना सहयोगीसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा अमेरिकातर्फ प्रस्थान गरेका हुन् । चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्य भूमिमा विलय गर्न सक्ने चेतावनी दिँदै आएको छ । त्यस्तै एक चीन सिद्धान्तअनुरुप कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफ्ना लागि अमान्य हुने उल्लेख गर्दै बेइजिङले यदि उनले भेटवार्ता गरे त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ । तर यता कसैको दबाबले विश्वका कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नपर्ने बताइन्छ । उनले आफू शान्त रहने कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताएकी थिइन् ।

गत वर्ष पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको चीनले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व सैन्य अभ्यास गरेको थियो । ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्र मान्ने गरे पनि लामो समयदेखि चीनले त्यसलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । ताईवान राष्ट्रपतिको अमेरिका भ्रमणमा चीनले कस्तो कदम चाल्ला ? अहिले नै भन्न सकिने अबस्था छैन ।