Breaking

खुलामञ्चमा शिविर बनाउन खोज्नु शंकास्पद : मेयर साह


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । उनले पीडितहरुको माग छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट सम्बोधन गर्नुपर्ने पनि बताएका छन् ।

तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको उनले बताएका छन् । मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको बेला मेयर साहले सो धारणा सार्वजनिक गरेका हुन् ।

खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन भन्दै मेयर साहले फेसबुकमा लेखेका छन्, ‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’

बर्दिवासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा काठमाडौँ महानगरपालिकाका नगरप्रहरीहरुले रोकेका थिए । त्यसपछि उनीहरु खुला आकास मुनि सडकमै रात बिताएका थिए ।

मेयर साहले मिटरब्याज पीडितहरुको आन्दोलन सडकमा बस्नका लागि नभई न्यायका लागि हो भन्दै मन्त्रिपरिषद्ले यथाशीघ्र उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

आज बिहान मिटरब्याज पीडितहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासतर्फ अगाडि बढ्दै गर्दा प्रहरीले टंगालमा रोकेको छ । उनीहरुले टंगालको सडक क्षेत्रमै बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।