काठमाडौँ – यस बर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ ।
फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं’, तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।’
आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौति रहेको किसान तुलसीपुर ९ निवासी दिवेश केसीले बताए । ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ’,उनले भने, ‘आँप धेरै फलेपनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।’
यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘फूल फुल्ने विरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ’,उनले भने, ‘यस बर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।’
प्रतिक्रिया