पाकिस्तानको पञ्जाब प्रान्तमा सरकारी वितरण केन्द्रबाट निःशुल्क बाँढिने पिठो लिनेक्रममा चार वृद्धको मृत्यु भएको छ । घटनामा केही मानिस बेहोस् भएका छन् । मुल्तान, मुजफ्फरगढ र फैसलाबादल सहरमा यस्तो घटना भएको हो । पाकिस्तानको आर्थिक स्थिति झनझन बिग्रँदै गएको छ । चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गरेपछि पाकिस्तानको आर्थिक अवस्था थाम्नै नसकिने गरी बिग्रेको देखिन्छ । राजनीतिक अस्थिरताले घेरिएको पाकिस्तान अहिले आर्थिक रुपमा समस्याग्रस्त छ । जलवायु परिवर्तन, कोभिड–१९ महामारी, युक्रेनमा जारी युद्व, विश्वव्यापी आर्थिक मन्दी र आन्तरिक राजनीतिक अदूर्शिताले पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेक्ने अवस्थामा पुर्याएको छ ।
बढ्दो इन्धनमूल्यले त्यहाँको हरेक वस्तु र सेवाको मूल्यवृद्धि गराउँदै लगेकाले जनताको अवस्था नाजुक देखिन्छ । विशेष गरी गरिव र न्यून मध्यमवर्ग हरेकतिरबाट पिल्सिएका छन । केही समय अगाडि पाकिस्तानका संघीय योजनामन्त्री एहेसान इकबालले आम पाकिस्तानी जनतालाई गरेको एक अपिल अन्तर्राष्ट्रिय समुदायमा निकै चर्चाको विषय बन्न पुग्यो । इकबालले आम नागरिकहरूलाई चिया सकेसम्म कम पिउन आग्रह गरेका थिए । उक्त अपिल पछाडि पाकिस्तानले चियापत्तीसमेत उधारोमा आयात गर्ने भएकाले चियाको खपत कम गर्न सकेमा देशको अर्थतन्त्रमा केही राहत पुग्न सक्छ ।
यतिमात्र नभएर हालै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विगत ७५ वर्षदेखि पाकिस्तान भिखारी देशका रूपमा रहिआएको अभिव्यक्ति दिए । शहबाजले आफ्नो क्याबिनेटका कुनै पनि मन्त्रीले तलब सुविधा नलिने मन्त्रीहरूसँग रहेका बिलासी गाडीहरूलाई लिलाम गर्नेलगायतका घोषणासमेत गरे । शहबाजको यो घोषणालाई देशको अर्थतन्त्र जोगाउने अन्तिम अस्त्रको रूपमा चित्रण गरिएको छ । पाकिस्तानमा हाल महँगीको दर ३० प्रतिशतले बढिरहेको छ । यो तथ्यांकले आम मानिसको जीवनमा पार्ने प्रत्यक्ष असरको बारे कुरा गर्नुपर्दा पाकिस्तानमा हाल गहुँको मूल्य प्रतिकेजी १५० रुपैयाँ, दाल ३०० रुपैयाँ, प्याज २२० भन्दा बढी पर्न आउँछ ।
आईतबार पाकिस्तानको पञ्जाब प्रान्तमा सरकारी वितरण केन्द्रबाट निःशुल्क बाँढिने पिठो लिने क्रममा चार वृद्धको मृत्यु भएको छ । घटनामा केही मानिस बेहोस् भएका छन् । सित्तैमा पिठो लिन मानिसको बाक्लो भिडभाड हुने र वितरणका लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो भएको अधिकारीले बताए । मृतकमध्ये दुईजनाको भाग दौडका कारण र दुई जनाको घन्टौँ लाइनमा बसेर मृत्यु भएको छ । यस्तै त्यहाँ जम्मा भएका मानिसलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।
चीनले केहि दिन अगाडी मात्रै आर्थिक संकटमा परेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेको छ । चीनले पाकिस्तानको संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो । चीनको सहयोगले पाकिस्तानले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ । पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्यधिक मुद्रास्फीतिबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको थियो ।
पाकिस्तानी अर्थतन्त्र सेना र शक्तिशाली कुलीनहरूको जालमा परेको देखिन्छ । उनीहरूको स्वार्थपूर्ति गर्ने क्रममा अर्थतन्त्रमा प्वाल परिरहेको छ र अन्तर्राष्ट्रिय दाता गुहार्नुपर्ने अवस्था आएको छ । ऋण बढ्दो छ र अर्थतन्त्र कोेल्याप्स हुने अवस्थामा छ । अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई सहयोग नगरेको अवस्थामा पाकिस्तान थप ऋणको दलदलमा फस्ने रटाट पल्टिन सक्ने प्रबल सम्भावना रहेको अर्थ विज्ञहरुको भनाई छ ।
प्रतिक्रिया