Breaking

गृह र सञ्चार मन्त्रालय माओवादीले राख्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेताहरुले गृह र सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका छन् ।

नेताहरूले मन्त्रालय भागबन्डा हुँदा यी दुई मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका हुन् । पार्टीको शनिवार बसेको पदाधिकारी बैठकमा नेताहरूले गृह र सञ्चार मन्त्रालय पार्टीले नै राख्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएका थिए । ती मन्त्रालय कांग्रेसले दाबी गरेको चर्चा चल्न थालेपछि नेताहरूले प्रचण्डलाई दायाबायाँ नगर्न दबाब दिएका हुन् ।

अर्थ र गृहमध्ये प्रधानमन्त्री प्रचण्डले गृह आफूसँग राखेर अर्थ कांग्रेसलाई दिने तयारी गरेको माओवादीका एक मन्त्रीले बताए । माओवादी नेता वर्षमान पुन बिरामी भई चीनमा उपचारत भएकाले प्रधानमन्त्री प्रचण्डले अर्थ चलाउन कांग्रेसलाई दिन लागेका हुन् । अर्थ कांग्रेसले लिएपछि माओवादीले गृह मन्त्रालय लिने भएको छ । अहिले भएका मन्त्रीमा थप नभएमा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ नै गृहमन्त्री हुने सम्भावना देखिएको छ । यदि माओवादीको भागमा एक मन्त्रालय थप भएमा शक्तिबहादुर बस्नेत, महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्तीमध्येबाट एक जना जाने तयारी छ ।

यस्तै सञ्चार मन्त्री समेत माओवादीकै भागमा परेको छ । प्रधानमन्त्री र सञ्चार मन्त्री एउटै पार्टीको हुने भएकाले सो मन्त्रालय फरक पार्टीको भागमा नपर्ने भएको हो । सञ्चार मन्त्री सरकारको प्रवक्ता समेत हुने भएकाले माओवादीकै रेखा शर्मा मन्त्री हुने भएकी छन् । यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालय फेरिदिन आग्रह गरेका छन् । उनले आफ्नो रुचि भएको भौतिक वा सहरी विकास मन्त्रालयमा पठाउन प्रचण्डसमक्ष आग्रह गरेको बताइएको छ । अरु माओवादीका मन्त्री भने यथावत् रहने भएका छन् ।