Breaking

माधवलाई चित्त बुझेन भागबण्डा, प्रचण्ड-देउवाको पेलानमा साना दल (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरेका बेला भागबण्डाको विषय जटिल बनेको छ । साना दलको दाबी नै ठूलो भएपछि सबैको चित्त बुझाएर जान प्रधानमन्त्रीलाई संकट परेको हो ।

गठबन्धनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाको सहमति झण्डै सम्झौता नजिक पुगेपछि साना दलहरु भारी पर्दै गएका छन् । आइतबारको संसद बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्रकारले सोधे, दुई वटा मन्त्रालय लिएर सरकारमा जान लाग्नुभएको हो ?,तर आफूलाई होच्याएको आभाष गरेर होला माधवले ठट्यौली पारामा जवाफ दिए, दुईटा होइन, एउटा होला । अझै घटाउनसक्नुहुन्छ भने घटाउनुस् ।
हुनत् माधव नेपाल नेतृत्वको नेकपा एसले गठबन्धनभित्र खोजेको तीन मन्त्रालयभन्दा बढी हो ।

त्यसमध्ये पनि काँग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएपछि अब रोज्ने पालो आफ्नो भएको बताउनेउसले गृहमा दाबी गरेको थियो । तर गृह र अर्थ जस्ता शक्तिशाली मन्त्रालय पनि माओवादी र काँग्रेस आफैले राखेपछि माधवले पक्कै आफूलाई कमजोर अंकगणितको सिकार बनेको अनूभूति गरिरहेका छन् । तीन नभइ दुई र खोजेको नभइ दिएको लिनुपर्ने भएपछि माधवले आफैमाथि व्यङय गरेका हुन् । यही कुरा उनले प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवासँग पनि गरेका छन् ।

दुईदिनुभन्दा एकभन्दा कम हुन्छ भने त्यही दिनुस भनेपछि भागबण्डामा असाधारण कठिनाई श्रृजना भएको निश्चित हो ।किनकि नेकपा एसले तीन मन्त्रालय दाबी गर्दा जसपाले पनितीन मन्त्रालयनै माग गरेको छ । लोसपाले दुई, नागरिक उन्मुक्तिले दुई, जनमतले दुई र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै आफुले चार मन्त्रालय पाएको भन्दै सोही दाबी गरेको छ । त्यसमध्ये स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका प्रभु साह र अमरेशकुमार सिंहलेसमेत मन्त्री बन्ने अडान लिएका छन् । साना दलको दाबी नै १८ मन्त्रालयमा भएपछि ७ मन्त्रालयमा माओवादी र काँग्रेसको चित्त कसरी बुझ्थ्यो र ?