काठमाडौँ — राष्ट्रिय तथ्यांक विभागले नेपालको नयाँ जनसंख्या सार्वजनिक गरेको छ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । १२ र्औ राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्यामा पछिल्लो एक दशकमा के कस्ता परिवर्तन भएका छन त । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार २०७८ मंसिर ९ सम्म नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला रहेका छन् । तथ्याङक अनुसार महिला भन्दा पुरुषका संख्या करिब ७ लाख कम छ ।
लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । अन्य लिङ्गीको संख्या दुई हजार ९ सय २८ छ । २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या सहित सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं र पाँच हजार ६ सय ८५ जनसंख्या सहित सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ रहेको छ । प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।
भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।नेपालको जनघनत्व १९८ जना रहेको छ । भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । पछिल्लो १० वर्षको अवधिमा विदेश गएर परिवारमा अनुउपस्थित हुनेको संख्या वृद्धि भएको छ ।
१५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बस्ने गरेको पाइएको छ । २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेको छ । जसमा ८२ प्रतिशत पुरुष १७ प्रतिशत महिला रहेका छन । संघिय संरचना अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ । गाउँपालिकाहरूमा बस्ने घटेका छन् । जम्मा जनसंख्याको ६६.१७ प्रतिशत नगरपालिकामा र ३३.८३ प्रतिशत गाउँमा बस्ने गरेको तथ्याङक छ । २०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।
१५ देखि ४९ वर्ष उमेर समूहका ६ हजार एक सय ८० विवाहित महिलाले ९ जनाभन्दा बढी बच्चा जन्माएको पाइएको छ । पछिल्लो एक दशकमा वार्षिक औसत ०.९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भएको छ । परिवारको औसत आकार घट्दो क्रममा रहेको देखिएको छ । औसत परिवार संख्या ४.३७ जना रहेको छ । पछिल्लो दश वर्षमा परिवार संख्या करिब २३ प्रतिशतले वृद्धि भएको छ । २०६८ को जनगणनाअनुसार नेपालमा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ थियो । अहिले यो संख्या ६६ लाख ६६ हजार ९३७ पुगेको छ ।
सरकारले निरक्षरता उन्मूलन गर्ने नीति लिएको दशक बितिसकेको छ । तर अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार साक्षरता दर ७६.२ प्रतिशत छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो । कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको देखिएको छ ।
जनगणनाअनुसार कुल जनसंख्याको आधारमा २.५ प्रतिशत पुरुष र २ प्रतिशत महिलामा अपांगता रहेको पाइएको छ । अझै पनि देशका कुल परिवारमध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेको पाईएको छ । अझैपनि ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर रहेको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गर्दै नियमित आपुर्तिमा जोड दिएका छन ।
प्रतिक्रिया