Breaking

प्रदेश नामकरणबारे उठेको असन्तुष्टिलाई वार्ता र संवादबाट समाधान गर्नुपर्छ: इन्द्रबहादुर आङ्बो


काठमाडौँ — नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश नामकरणबारे उठेको असन्तुष्टिलाई वार्ता र संवादबाट सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रदेशसभा संसदीय दलमा आज सञ्चारकर्मीसँग उनले आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत हुने उल्लेख गरे । मधेशपछि पहिचानको आन्दोलन उठेको यो प्रदेशमा पहिचानको नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको भन्दै उनले प्रदेशसभाको अंकगणितले तत्काल पहिचानसहितको नामकरण हुन नसके पनि यही नाम अपरिवर्तनीय र अन्तिम नभएको बताए ।

संविधानपनि परिवर्तनीय छ भने प्रदेशको नाम अपरिवर्तनीय हुनै सक्दैन,’ उनले भने, ‘पहिचान पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोलि पनि नाम परिवर्तन हुन्छ । लामो समय प्रदेशको नामकरण नहुँदा त्यही बहानामा प्रदेश र संघीयतामाथि प्रहार बढ्ने अवस्था रहेको भन्दै उनले त्यसलाई चिर्न कोशी नाम राखेर जान माओवादी पनि सहमति भएको दाबी गरे । संविधान जलाएका शक्तिहरु पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरु उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरुलाई शान्तिपूर्ण रुपले उठाउन आन्दोलनकारीलाई आग्रह गरे ।

सरकारले आन्दोलनकारीलाई तत्काल वार्तामा बोलाएर उनीहरुको कुरा सुन्नुपर्ने उल्लेख गर्दै उनले छलफल नै हुन सक्दैन भन्नु जडता भएको टिप्पणी गरे । यसअघि प्रदेशका मुख्यमन्त्री हिक्मतकुममार कार्कीले नामबारे छलफलसमेत हुननसक्ने चर्को अभिव्यक्ति दिएका थिए । ओखलढुङ्गामा उनले दिएको सो अभिव्यक्तिलगत्तै उनीमाथि पहिचान पक्षधर बताउने समूहले आक्रमणको प्रयास गरेको थियो भने आङ्बोमाथि पनि ताप्लेजुङमा आक्रमणको प्रयास भएको थियो ।