Breaking

बागमती प्रदेश मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ। यो बैठक मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नका लागि तय गरिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका छन्।

नेकपा माओवादी संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भई माघ ३ मा विश्वासको मतसमेत लिएका थिए। उनलाई त्यसबेला नेपाली कांग्रेसहित ६ दलहरूका १०५ जना सांसदहरूले विश्वासको मत दिएका थिए।

प्रदेश सभामा रहेका नेपाल मजदुर किसान पार्टीका ३ जना सांसदले मात्रै उनलाई विश्वासको मत दिएका थिएनन्।

राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा बनेको गठबन्धनअनुसार ती दलका प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तयारी गरेका छन्।

मुख्यमन्त्री जम्कट्टेलले सबै दलसँग विश्वासको मत मागेका छन्। नेकपा एमाले र राप्रपालगायत दलले विश्वासको मत दिने कि नदिने बताइसकेका छैनन्।

बागमती प्रदेश सभामा ११० जना सांसद छन्। मुख्यमन्त्रीलाई बहुमतका लागि ५६ जना सांसदको साथ चाहिन्छ।

प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।