Breaking

चुनाव जित्न रविको दौडाहा, रोक्न के छ कांग्रेस एमालेको तयारी, के होला रविको विरासत ?


काठमााडौँ — सधैं चासोको केन्द्रमा हुने चितवनको चुनाव यसपटकको उपनिर्वाचन पनि रोमाञ्चक बन्ने देखिन्छ । पहिलो निर्वाचनमा भारी मतान्तरले विजयी गराएको रास्वपा सभापति रवि लामिछाने उनकै कारण हुन लागेको उपनिर्वाचनमा कति सुरक्षित छन् त ? चितवन निर्वाचन क्षेत्र नम्बर २ यतिखेर फेरि उपनिर्वाचनका कारण चर्चामा छ । सर्वोच्च अदालतले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्धामा दोषी ठहर गरेपछि उक्त क्षेत्रमा रिक्त रहेको सांसद पदका लागि फेरि निर्वाचन हुने भएपछि चितवन २ मा चुनावी सरगर्मी सुरु भएको हो ।

उम्मेदवार टुंगो नलगाएका राजनीतिक दलहरु उम्मेदवार खोज्दै छन् भने, चुनावमा प्रतिष्पर्धा गर्ने निश्चित भइसकेकाहरु तयारीमा जुट्न थालिसकेका छन् । सर्वोच्चको आदेशपछि पुरानै नागरिकतालाई कायम गराईसकेका रास्वपा सभापति लामिछाने नै पुनः चितवन २ बाट चुनाव लड्ने पक्का पक्की नै छ । यसका लागि उनी महिना दिन अघि देखि नै त्यसको तयारीमा जुटिरहेका छन् । घरदैलो कार्यक्रमलाई तीव्रता दिएका उनले चितवनलाई नै आफ्नो बासस्थान बनाइरहेका छन् । रविले चितवनमा देखाएको सक्रियता र चुनाव लक्षित कार्यक्रमलाई बुझेर रविलाई पुनः पहिलेको भन्दा अत्यधिक बहुमतले विजयी गराउने पार्टी उपसभापतिले ठोकुवा नै गरेका छन् ।

उपनिर्वाचनका लागि सत्ता घटक नेपाली कांग्रेसका आकांक्षीहरु पनि दौडधुपमा छन् । टिकट हत्याउनकै लागि नेताहरु केन्द्रीय नेताका समिप धाउन थलिसके । गत आम निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्दा कांग्रेसको भागमा परेको उक्त निर्वाचन क्षेत्र अहिले पनि कांग्रेसले पाउने निश्चित जस्तै बने पछि उम्मेदवारका आकांक्षीहरुको लाइन लागेको छ । यसअघि पराजित पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख दाबेदारका रूपमा देखिएका छन् ।

उनीबाहेक कांग्रेसका चितवन सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका छन् । यसबाहेक केन्द्रबाट अर्थविद् डा. स्वर्णिम वाग्लेको नाम पनि चर्चामा छ । सत्ता गठबन्धनमा नै रहेको रास्वपालाई हराउन रविविरुद्ध कांग्रेस बलियार लाकप्रिय उम्मेदवारीको खोजीमा छ ।

केही समय अघि ओली र रवि निकट हुँदा रविलाई हामी जिताएर ल्याउछौँ भनेको एमालेले अहिले उपचुनावको सम्भावित उम्मेदवारबारे कार्यकर्ता तहमा प्रारम्भिक छलफल सुरु गरेको छ ।ग्रासरुट अभियानलाई नै चुनावी अभियानका रुपमा चलाइरहेको एमालेले ०७४ मा त्यसै क्षेत्रबाट निर्वाचित र अघिल्लो चुनावमा हार व्योहोरेको कृष्णभक्त पोखरेललाई नै उठाउने सम्भावना छ । पोखरेललाई पराजित गरेर चितवन २ का मतदाताले ठूलो साथ दिएको रविलाई यस पटक त्यही साख जोगाउन चुनौती भए पनि, असम्भव नरहेको विश्लेषक बताउँछन् ।

०७९ को निर्वाचनमा पनि रवि, उमेश र कृष्णभक्त भिडेका थिए । सो निर्वाचनमा लामिछानेले ४९ हजार दुई सय ६४ मत ल्याएर विजयी बन्दा गठबन्धनबाट लडेका कांग्रेसकाश्रेष्ठले १४ हजार नौ सय ८३ मत प्राप्त गरेका थिए भने एमालेका पोखरेलले १४ हजार ६ सय ४७ मत ल्याएका थिए । रवि फेरि पुरानै विरासत फर्काउने लक्ष्यमा छन् ।