Breaking

प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन सक्दैनः गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए ।

महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए । उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए । उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटकपटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ । दिनमा कम्तीमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् ।

मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ । प्रधानमन्त्रीले दायाँ रहे पनि भोट, बायाँ रहे पनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन ।