Breaking

भागबण्डाले गठबन्धनमा कलह, काँग्रेसमा मन्त्रीहरु तयार, रविले नयाँ मन्त्री पठाउँदै, माओवादीको घट्दै


काठमाडौँ — दोस्रोपटक विश्वासको मत जितेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारबारे छलफल अघि बढाएका छन् । तर ११ दल आवद्ध गठबन्धनमा सजिलै सहमतिको संकेत देखिएको छैन । गठबन्धनमा आवद्ध ११ दललाई २१ वटा मन्त्रालयको भागबण्डा ‘भात खाउँ कि थाल खाउँ ’ जस्तो छ ।गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले कम्तीमा ८ देखि १० मन्त्रालयले आफुले पाउनुपर्ने अडान प्रधानमन्त्रीसमक्ष पेश गरेको छ । किनकि विगतमा एमालेको भाग परेका मन्त्रालय आफुले पाउनुपर्ने मत काँग्रेसको हो । यसका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमासहभागि हुने लगभग सुनिश्चित जस्तै छ । सरकारमा नजाने बताएपनि गृह काँग्रेसले पाए खड्काकै नेतृत्वसहित सहभागि हुने काँग्रेसको तयारी छ ।

जसमा प्रकाशशरण महत, एनपी साउद र वीरबहादुर बलायरसहित महिलामा रिता गुरुङ र ईश्वरी न्यौपाने सरकारमा सहभागि हुन खोजिरहेका छन् ।भूगोल एउटै भएकाले साउद र बलायरमध्ये एकजनालेमात्रै अवसर पाउने देखिन्छ । तर गृह काँग्रेसले नपाए अर्थसहित प्रकाशशरण महतले सरकारमा काँग्रेसको नेतृत्व गर्ने चर्चा छ । माओवादी र समाजवादीको पनि यी दुवै मन्त्रालयमा दाबी रहेकाले महतलाई परराष्ट्रमन्त्री बनाएर जान देउवा टीमभित्र छलफल भइरहेको छ ।

तर अर्का उपसभापति धनराज गुरुङसहित शेखर समूहका आधा दर्जन नेताहरुलाई देउवाले मन्त्रीको आश्वासन दिएकाले सजिलै सहमति जुट्न नसकेको विश्लेषण छ । प्रत्यक्षतर्फ निर्वाचित र युवाहरुलाई प्राथमिकता दिने तयारी भएपनि देउवाले १४ महाधिवेशनमा सघाएका प्रकाशमान सिंह र बिमलेन्द्र निधिसहितका नेताहरुलाई गुण तिर्न खोजेका छन् ।

गठबन्धनभित्र भागबण्डाको भारी नेकपा एकीकृत समाजवादी बन्दैछ । राष्ट्रपति काँग्रेसले, प्रधानमन्त्री माओवादीले र उपराष्ट्रपति जसपाले पाएका कारण रोज्ने पालो आफ्नो आएको समाजवादीको अडान छ । उसले गृहमा पहिलो दाबी गरेको छ । गृह पाए उपाध्यक्ष राजेन्द्र पाण्डे सरकारमा जान कस्सिएपनि उनको सपना सकार हुने देखिएको छैन । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल नै बनाएर दबाब बढाएको उसले दुई मन्त्रालयसहित एक राज्यमन्त्री पाउने सम्भावना छ । जसमा बेदुराम भुसाल, प्रकाश ज्वाला र महिला राज्यमन्त्रीका रुपमा जयन्ती राईको नाम पक्का जस्तै छ ।

उसले गृह नपाए भौतिक पूर्वाधार, उर्जा, शिक्षा, सहकारी र पर्यटनमध्ये दुईमन्त्रालय पाउनुपर्ने प्रस्ताव प्रधानमन्त्रीसँग गरेको छ । तर पार्टीभित्रै किसान श्रेष्ठ र प्रेम आले जस्ता आकांक्षीको व्यवस्थापन गर्न सहज छैन । तथापी आफ्नै निवासमा बोलाएर ओली–माधवको भेटवार्ता गराएका किसान श्रेष्ठसँग प्रचण्ड असन्तुष्ट छन् । विगतमा पनि पटकपटक मन्त्री भएकाले यसपटक ओली र श्रेष्ठलाई रोक्ने दबाब पार्टीभित्रै छ ।

बाबुराम भट्टराईको पार्टीबाट महिन्द्रराय यादव मन्त्री बन्नेदेखिएपनि त्यो माओवादीकै भागबाट मिलाउनुपर्ने गठबन्धनभित्रको मत छ । तर प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमै रहेको माओवादीले गठबन्धनमा भागबण्डा मिलाउन आफ्ना भाग घटाउनुपर्ने अवस्था छ । यस्तो बेला माओवादीकै भागबाट बाबुराम भट्टराईको पार्टीले पाउने सम्भावना न्यून देखिन्छ । झन स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकाहरुको पनि समर्थन पाएकाले प्रचण्डलाई व्यवस्थापन सहज छैन । स्वतन्त्र रुपमा चुनाव जितेका प्रभु साह मन्त्री बन्ने पक्का जस्तै छ ।

देउवाले मन नपराएका तर आफुलाई प्रधानमन्त्री बनाउन सुरुदेखि नै भूमिका खेलेका अमरेशकुमार सिंहलाई प्रचण्डले मन्त्री बनाएर गुन लगाउन खोजेको हुनसक्छ । जसपाले राजकिशोर यादवको नेतृत्वमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी गरेको छ । उसको रोजाइ भौतिक पूर्वाधार, सहरी विकास, कृषि, स्वास्थ्य श्रम र पर्यटनमध्ये तीन मन्त्रालयको छ । तर उपराष्ट्रपति पाएकाले धेरै मन्त्रालय दिने पक्षमा अन्य दल छैनन् । जसपाकै प्रतिद्वन्द्वी जस्तो बनेको जनमत पार्टीले खानेपानी मन्त्रालय पाएपनि फेरि एक मन्त्रालय थप्न खोजेको छ । नत्र उद्योग र कृषिमध्ये एक आफुले पाउनुपर्ने उसको अडान छ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउन दबाब दिएको छ ।

तथापी उसले पार्टी संस्थापक रेशम चौधरीको रिहाईलाई प्रमुख एजेण्डा बनाइरहेको छ । लोसपाले एकमन्त्री पाउने सम्भावना छ भने सबैभन्दा धेरैपटक मन्त्री बनेका शरदसिंह भण्डारी सरकारमा जान खोजिरहेका छन् । तर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले सरकारमा सहभागि नहुने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सरकारमा जाने पक्का भएपछितीन मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड सहमत छन् ।

रास्वपाले शिक्षा, स्वास्थ्य र खेलकुद मन्त्रालयमा नयाँ अनुहारलाई पठाउने तयारी गरेको छ ।जसमा विराजभक्त श्रेष्ठले नेतृत्व गर्ने सम्भावना बलियो छ । तथापी उपसभापति डीपी अर्याल पुरानै श्रममन्त्रालय लिएर सरकारमा जान खोजिरहेको छन् । सभापति रवि लामिछाने उपनिर्वाचनमा होमिएकाले परिणामलाई हेरेरमात्रै सरकारमा जानुपर्ने मत बलियो छ । त्यसो हुँदा बैशाख १० पछि मात्रै सरकारमा जाने र सभापतिकै नेतृत्वमा जानेबारे रास्वपामा छलफल भइरहेको छ ।