काठमााडौँ — नेपालले सनसनीपूर्ण रुपमा विश्वकप क्रिकेट लिग–२ का १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप छनोटमा पुग्दा धेरैले विश्वकप नै खेल्न लागेको अर्थमा बुझेका छन्। तर भारतमा हुने विश्वकप खेल्न नेपाले अझै निकै कठिन यात्रा पार गर्नु पर्ने छ । यसै वर्षको अक्टोबर र नोभेम्बरमा भारतमा हुने आईसीसी क्रिकेट विश्वकपका लागि १० राष्ट्रले प्रतिष्पर्धा गर्दै छन् । जसमा १३ राष्ट्र सम्मिलित आईसीसी सुपर लिगका उत्कृष्ट ८ भित्र पर्ने राष्ट्रहरुले सिधै विश्वकप खेल्ने छन् भने अन्य दुई टोली जुन जुलाईमा जिम्वाब्वेमा हुने छनोट खेलबाट आउने छन् । अहिलेसम्म सुपर लिगको उत्कृष्ट ७ भित्र परिसकेका आयोजक भारतसहित इंल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र अफगानस्तानले विश्वकप खेल्ने निश्चित भईसकेको छ । वेस्ट इण्डिज,साउथ अफ्रिका, श्रीलंका, र आयारल्याण्ड ८ भित्र पर्न प्रयासरत छन् ।
प्रतियोगिताको सबै २४ खेल खेलेको वेस्ट इण्डिज ८८ अंक सहित ८ औं स्थानमा रहेको छ भने समान २१ खेल खेलेको श्रीलंका र आयारल्याण्डको क्रमशः ७७ र ६८ अंक छ । त्यस्तै ५ खेल खेल्न बाँकी साउथ अफ्रिका ८८ अंकसहित तालिकाको ९ औं स्थानमा छ । यसरी हेर्दा साउथ अफ्रिकालाई विश्वकपमा पुग्न सहज देखिन्छ । बाँकी ५ मध्ये ३ खेलमात्रै जिते पनि अफ्रिका सिधै विश्वकपमा पुग्ने छ भने अन्य तीन राष्ट्रलाई आफ्नो सबै खेल जितेर पनि अरुको खेलमा निर्भर हुनु पर्ने समीकरण बनेको छ । जिम्वाब्वे र नेदरल्याण्ड सुपर लिगको अन्तिम ५ मा परिसकेको छ ।
अब वेस्ट इण्डिज, साउथ अफ्रिका, श्रीलंका र आयरल्याण्डमध्ये तीन टोलीले विश्वकप छनोट खेल्ने पक्का छ । त्यस्तै १० राष्ट्रबीच हुने छनोट खेलमा यी ५ टोलीसहित आईसीसी क्रिकेट लिग २ बाट उत्कृष्ट ३ मा परेका मुलुक स्कटल्याण्ड, ओमान र नेपाल छन् । त्यस्तै बाँकीका २ देश छनोट प्ले अफबाट आउने छन् । लिग २ का अन्तिम ४ मा रहेको नामिविया, अमेरिका, युएई र पपुवा न्युगिनीसँगै विश्वकप च्यालेन्ज लिगबाट आएका क्यानडा र जर्सीले छनोटका लागि पनि प्लेअफ खेल्नु पर्ने छ । यही मार्च र अप्रिलमा हुने प्लेअफका उत्कृष्ट दुई देशले विश्वकप छनोट खेल्न पाउने छन् ।
नेपालको विश्वकप यात्रा कठिन पक्कै देखिन्छ तर, असम्भव भने छैन । यसअघिका लिग २ कै खेलमा पनि नेपालले त्यो प्रमाणित गरिसकेको छ । त्यही आत्मविश्वास र प्रशिक्षक मोन्टी देशाईको राणनीतिले छनोटमा पनि काम गर्नेमा खेलाडीहरु विश्वस्त छन् । टेष्ट राष्ट्रहरुसँग हुने प्रतिष्पर्धाका लागि खेलाडीहरु पनि आतुर छन् । ज्यादै हौसिएका छन् । फिफा विश्वकपमा खेल्ने राष्ट्रहरु थपिदै छ आगामी फिफा विश्वकपका लागि ३२ बाट बढाएर ३६ राष्ट्र विश्वकपमा खेल्दैछन् । तर, क्रिकेटमा भने विश्वकप खेल्ने राष्ट्रलाई घटाउँदै लगेको छ । २०११ र ०१५ मा १४ राष्ट्रले विश्वकप खेल पनि अहिले १० राष्ट्रमा खुम्चिएको छ । १९७५ मा ८ राष्ट्रबाट खेल्न सुरु भएको क्रिकेट विश्वकप ४८ वर्षसम्म जम्मा २ राष्ट्र मात्रै बढेको छ ।
आईसीसी भन्दा कुनै एक देशको क्रिकेट बोर्ड बलियो हुँदा विश्व क्रिकेटमा नै सिन्डीकेट हावी भएको छ । विश्व क्रिकेटमा कुनै एकाध राष्ट्रको मात्रै पकड हुँदा क्रिकेट निश्चित देशभन्दा बाहिर जान सकेको छैन । क्रिकेटमा उदाउँदै गरेका देशहरु पनि जहिल्यै जहाँको त्यही नै छन् । विश्वकपको नाममा सधै तिनै १० टिमले मात्रै प्रतिष्पर्धा गर्दा विश्वकप खेल्ने देशैमा पनि त्यसको लोकप्रियता कम छ । जसरी फिफा विश्वकपले संसारको ध्यान तान्ने गर्छ, क्रिकेट विश्वकप त्यसमा चुक्दै आएको छ ।
प्रतिक्रिया