Breaking

देउवाको साथमा ढुक्क प्रचण्ड, लिङ्देनले चुनौती दिँदा रवि प्रचण्डको पक्षमा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन । पुष १० गते तेस्रो पटक प्रधानमन्त्री बन्दै पुष २६ मा असाधरण विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरण फेरिएपछि दोस्रो पटक विश्वासको मत लिनु परेको थियो । सदनको तेस्रो दल बनेर पनि सत्ता हत्याउन सफल माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा दोस्रो पटक विश्वासको मत लिएका छन । सोमबारको प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले समर्थन जनाएका छन भने ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका छन । एकजनाले मत दिएनन् ।

गत पुष १० नेकपा एमाले सहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुष २६ मा असाधारण संसद को ९९ प्रतिशत सांसदको विश्वासको मत पाए पनि राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि पुन प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो । आफ्नो साढे दुई महिने कार्यकालको फेरिस्ता प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत मागेको थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा सहित दश दलिय गठबन्धन र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन । शान्ति प्रक्रियालाई निचोडमा पु¥याउन र राष्ट्रिय समस्या समधानका लागि गठबन्धन संस्कार अंगाल्नुको विकल्प नभएको तर्क सहित विश्वासको मत दिएको पक्षधर दलको भनाई छ ।

तत्कालिन एमालेको नेतृत्वमा प्रचण्डलाई विश्वासको मत दिएका साना दलहरुले अहिले पनि विभिन्न तर्क र बहानामा प्रचण्डलाई विश्वासको मत मात्र दिएनन् कि उनीबाट आशा गर्ने ठाउँ रहेको बताए । यता सत्ता यात्राकै कारण विवाद खेपीरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गुण र दोषको आधारमा प्रचण्डलाई विश्वासको मत दिए र सरकारले काम गर्न नसके विश्वास जुनसुकै बेला फिर्ता लिने उनीहरुको तर्क छ ।

नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टीले विपक्षीमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण फेर्दा सत्ताच्यूत भएका नेकपा एमाले र राप्रपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएन्न । आफुहरुसँगको गठबन्धन तोड्नुका कारण समेत खुलाउन नसकेको आरोप लगाउँदै विश्वासको मत नदिएको उनीहरुको तर्क छ । राप्रपा अध्यक्ष लिङदेनले ड्राईभरको किस्सा नै सुनाउँदै हिजोको आजै विश्वासको मत दिन नसकेको बताएका छन ।

सदनको दोस्रो ठूलो शक्ति प्रतिपक्षमा छ । ठुला साना दलहरुको झुण्ड मिलेर बनेको सरकारको नेतृत्वको निरन्तरता प्रचण्डले पाएका छन । पहिलो पटक सर्वाधिक असाधारण विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले साढे दुई महिनामै अर्को विश्वासको मत लिने परिस्थितिमा पुगेका छन । दोस्रो पटक प्राप्त विश्वासको मत टिकाउन सत्ताको सयर प्रचण्डका लागि कम सहज पक्कै छैन । प्रधानमन्त्री प्रचण्डको सत्ता आयु उनको आफ्नै कदम र दश दललाई मिलाएर लग्ने ल्याकत साथै प्रतिपक्षको भूमिकामा निर्भर रहनेछ ।