Breaking

एससीओ सम्मेलनका लागि पाकिस्तानलाई भारतको निमन्त्रणा


काठमाडौँ – भारतले आगामी मे र अप्रिलमा हुने सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका लागि पाकिस्तानलाई पनि निमन्त्रणा पठाएको छ ।

भारतले पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफ र विदेशमन्त्री बिलावल भुट्टो जरदारीलाई निमन्त्रणा पठाएको हो । अन्य सदस्य राष्ट्रसँगै भारतले पाकिस्तानलाई पनि निमन्त्रणा गरेको बीबीसीले जनाएको छ। यद्यपि, ‍पाकिस्तानले भने भारतमा हुने सम्मेलनमा दुवै मन्त्रीको सहभागिताको पुष्टि गरेको छैन।

एससीओमा भारत र पाकिस्तानसहित चीन, रुस, किर्गिस्तान, काजाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सदस्य छन्। आठ देशको एससीओ संगठनको भारत वर्तमान अध्यक्ष हो । सम्मेलनमा पाकिस्तानी रक्षामन्त्री भारत आए भने त्यो दुर्लभ दृश्य हुनेछ। भारत(पाक विभाजनपछि सन् १९७२ मा सिमला सम्झौताको बेला तत्कालीन राष्ट्रपति एवं रक्षामन्त्री जुल्फिकार अली भुट्टोले भारत भ्रमण गरेका थिए। त्यसयता कुनै पाकिस्तानी रक्षामन्त्रीले भारत भ्रमण गरेका छैनन्।

सैन्य इतिहासकार मदीप सिंह बाजवाले पाकिस्तानी रक्षामन्त्री उक्त सम्मेलनमा आउन सक्ने अपेक्षासहित भन्छन्, पाकिस्तानका रक्षामन्त्रीले यसअघि कहिल्यै भारत भ्रमण गरेका थिएनन्। सन् १९७२ मा सिमला सम्झौताको समयमा जुल्फिकार अली भुट्टोले मात्रै भारत भ्रमण गरेका थिए, जब उनी राष्ट्रपति थिए। यसमा रक्षा मन्त्रालय पनि थियो, यसबाहेक पाकिस्तानका कुनै पनि रक्षामन्त्री भारत आएका छैनन्।

अहिलेसम्म पाकिस्तानले एससीओलाई महत्व दिएकाले रक्षामन्त्री भारत आउने अपेक्षा उनको छ । उक्त भ्रमणले भारत र पाकिस्तानबीचको चिसो कूटनीतिक सम्बन्धमा पनि सुधार गर्नसक्नेछ ।