Breaking

अष्टलक्ष्मीलाई हराउँदै यादव बने उपराष्ट्रपति, विभाजनको चक्रव्युमा मधेशवादी,कसरी जोगाउँला उपराष्ट्रपतिको गरिमा


काठमााडौँ — शुक्रवार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमार्फत मुलुकले नयाँ उपराष्ट्रपति पाएको छ । संविधानत राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिको कार्यभार सम्हाल्नु उपराष्ट्रपतिको मुख्य दायित्व हो । राष्ट्रपति सँधै विवादमा तानिए पनि उपराष्ट्रपति गौण रहँदै आएको छ । तर नयाँ उपराष्ट्रपतिको आगमन भने सँधै चासोपूर्ण हुने गर्दछ । शुक्रवार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न किरियापुत्री बसेका गण्डकी प्रदेश सांसद प्रकाश बराल नयाँ बानेश्वरस्थित संसद भवन पुगेर मतदान गरे । विहानै पोखराबाट हवाई जहाजमार्फत यहाँ आएर मतदान गरेका हुन् । त्यस्तै ट्रमा सेन्टरमा उपचाररत सांसद मोहमद अब्दुल कलाम आजाज संसद भवन नयाँ बानेश्वरमा पुगेर मतदान गरे ।

सांसदहरुको यो तदारुकताले पनि उपराष्ट्रपति पद र निर्वाचनको महत्व बुझ्न सकिन्छ । शुक्रवार सम्पन्न निर्वाचन मार्फत जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव मुलुकको चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन । नौ दलिय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका यादवले नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यालाई पराजित गर्दै ३० हजार ३ सय २८ मतभार सहित उपराष्ट्रपतिमा निर्वाचित भएका हुन । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा स्वत महिला हुनु पर्ने विरोधकाबीच यादव तीन–तीन जना महिला उम्मेदवारलाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भए ।

यादवको प्रतिस्पर्धामा रहेका प्रमिला यादवको उम्मेदवारी निष्क्रिय भए पनि उनले एक भोट प्राप्त गरिन भने नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यले क्रमश १ सय ६९ प्रदेशसभा सदस्य १ सय ४ संघीय सांसदको मत पाइन । जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका थिए । नवनिर्वाचित यादव फरक समुदायको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका थिए । एउटै गठबन्धनमा रहेर पनि उनका विरुद्ध मधेश केन्द्रित दल नै उत्रिए पनि गठबन्धनको बलमा बाजी यादवले मारेका छन । तथापी उपराष्ट्रपति पद र जिम्मेवारीलाई लिएर यसअघि जिम्मेवारी सम्हालीसकेका व्यक्तिबाट नै असन्तुष्टि प्रकट भईरहेका बेला यादवले यसलाई कसरी जिम्मेवारी बहन गर्छन् चासोमा छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पहिलो कार्यकाल दुवै मधेशी समुदायले नेतृत्व गरे । मुलुकको पहिलो राष्ट्रपतिमा रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चयन भएका थिए । यी दुवै संवैधानिक पदमा पछिल्लो दुई कार्यकाल खस आर्य समुदायका विद्यादेवी भण्डारी राष्ट्रपति र आदिवासी जनजाति समुदायबाट नन्दबहादुर पुन (पासाङ)ले उपराष्ट्रपतिको जिम्मेवारी पाएका थिए । राष्ट्रपतिमा खसआर्य समुदायबाट निर्वाचित भएपछि उपराष्ट्रपतिमा यादवले उम्मेदवारीसँगै बाजी मारेका हुन । तर उपराष्ट्रपतिको चुनावले मधेश केन्द्रित दलबीच नै विभाजित गराइदिएको छ । राष्ट्रपतिको तुलनामा विवादरहित उपराष्ट्रपति पदको गरिमालाई यादवले कसरी सम्हाल्छन त्यो पनि चासोमा छ ।