Breaking

गठबन्धनमा माधवको माग बढ्यो, गृहमा टक्करको लडाइँ, रवि पनि सरकारमा,काँग्रेससँग डरायो माओवादी


काठमाठडौँ — एमाले नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै पाँच मन्त्रीको भरमा प्रधानमन्त्री सरकार चलाइरहेका छन् । रिक्त रहेका १६ मन्त्रालयको भागबण्डामा गठबन्धन प्रवेश गरेकै छैन ।उपराष्ट्रपतिको निर्वाचन पनि सकिएसँगै सरकार विस्तार गर्नैपर्ने बाध्यतामा प्रधानमन्त्री परेका छन् । तर भागबण्डा सजिलै टुंगिने अवस्था छैन । राष्ट्रपति काँग्रेस पायो, प्रधानमन्त्री माओवादीले । जसपाले उपराष्ट्रपति पाउँदा उत्तिकै हैसियत भएको नेकपा एकीकृत समाजवादीभागविहिन छ ।गठबन्धनभित्र आफुलाई शक्तिशाली देखाउन कुनै कसर नछोडेको समाजवादी अब सत्तामा पनि नछोड्ने कसरतमा छ । भागबण्डामा पहिलो प्राथमिकता र मुख्य मन्त्रालय आफैले पाउनेपर्ने अडान समाजवादीले अघि सारेको छ ।

समाजवादीले तीन मन्त्रालय त्यसमध्ये गृह आफुले पाउनुपर्ने दाबी अघि सारेको छ ।त्यसमा उपाध्यक्ष पाण्डेले आफैलाई अघि सारेका छन् । तर महासचिव बेदुराम भुसालदेखि गठबन्धन बनाउन अध्यक्षलाई विशेष सघाएका उपमहासचिव प्रकाश ज्वाला समाजवादीभित्र बलियो दाबेदार देखिन्छन् ।यद्यपी गृह माओवादी र काँग्रेसको पनि रोजाइको मन्त्रालय हो । यसअघि आफुले गृह नपाएकै कारण माओवादीभित्र खटपट आएर ओलीसँग सम्बन्ध विच्छेदकै अवस्था बनेको थियो । माओवादीमा मन्त्रीको जिम्मेवारी हेरफेर भएपनि नयाँ मन्त्री पठाएर पुराना फर्काउने सम्भावना नभएको नेताहरु बताउँछन् ।

काँग्रेसबाट महत्वपूर्ण मन्त्रालयसहित सरकारमा नेतृत्व गर्ने पात्रको खोजी भइरहेको छ ।उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले सरकारमा जान इन्कार गरेका छन् । तर प्रकाशमान सिंहदेखि विमलेन्द्र निधिसम्मका नेतालाई सरकारमा पठाउनेबारे देउवा गृहकार्यमा रहेको चर्चा चलिरहेको छ । तथापी काँग्रेसले विश्वासको मतमा गर्नसक्ने गडबडीले माओवादीमा शंका उत्पन्न भएको छ ।

गृहबाट निरीह बनेर फर्किएका रास्वपा सभापति रवि लामिछाने पनि सरकारमा सहभागी हुनेबारे सोचिरहेका छन् ।राष्ट्रपतिमा काँग्रेसलाई सघाएको रास्वपाले उपराष्ट्रपतिमा जनमतलाई सघाएको छ । गठबन्धनभित्र रास्वपालाई सहभागी बनाउनेबारे आवश्यक छलफल भने भएको छैन ।

१० दलीय गठबन्धन बन्दा पनि उपराष्ट्रपति निर्वाचनमा चाहेजस्तो समीकरण बन्न सकेन । काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी जसपाको कित्तामा उभिए । नागरिक उन्मुक्ति, लोसपा र रास्वपालेजनमत पार्टीका उम्मेदवारलाई मत दिए ।यसले दुई कित्तामा विभाजित गठबन्धन सरकार विस्तारका विषयमा झनै खण्डित हुने जोखिम बढेको छ ।त्यसैले भागबण्डा सहज देखिएको छैन । झन प्रधानमन्त्रीले विश्वासको मत लिन बाँकी नै रहेकाले सरकार विस्तार टाढा विषय बन्दैछ ।

प्रधानमन्त्रीले विश्वासको मत नपाए राजनीति नाटकीय मोडमा पुग्न सक्छ । काँग्रेस सत्ताको नेतृत्वमा पुग्ने लोभकै कारण फेरिने सक्ने भयले माओवादी त्रसित छ । गठबन्धन बिथोल्न एमालेले खेलिरहेको भूमिका र देखाइरहेको लोभ पनि आलोकाचो छैन ।फलतः गठबन्धनभित्रको शक्ति बाँडफाँड र एमालेको सम्भावित कदमकै आधारमा पनि सरकार विस्तारको विषय टुंगिने छ ।