Breaking

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदै, प्रतिष्पर्धामा ४ उम्मेदवार


काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अंकित कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्नेछ । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने भएको छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ ।