Breaking

नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नछोड्ने दाबी गर्दै


काठमाडौँ – उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए ।

नेता पाण्डेले अरूले छोडेका मन्त्रालयमा आफ्नो पार्टीले चित्त बुझाउन नसक्ने पनि बताए । ‘अरूले जुन मन्त्रालय छोड्छन् त्यसमा हामीले चित्त बुझाउने अवस्था छैन । किनभने प्रमुख पदहरूमा हामीले कांग्रेस, माओवादी र समाजवादीलाई सहयोग गरेका छौ । त्यस्तो अवस्थामा हामीले मन्त्रालय रोज्न पाउनुपर्छ’, पाण्डेको भनाइ छ । यद्यपि उनले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुन बाँकी नै रहेको बताए । नेता पाण्डेका अनुसार एकीकृत समाजवादीबाट कसलाई सरकारमा पठाउने भन्ने निर्णय चैत ५ गते सचिवालय बैठक बसेर निर्णय गर्ने बताए । ‘सम्भवतः चैत ५ गते सचिवालय बैठक बस्छ, त्यो बैठकमा सरकारमा जाने पात्रबारे छलफल हुन्छ’, पाण्डेको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीमा नेता पाण्डेसहित प्रकाश ज्वाला, भानुभक्त जोशी, धनबहादुर बुढा मन्त्रीका आकांक्षी छन् । त्यस्तै राष्ट्रियसभा सदस्य बेदुराम भुसाल पनि मन्त्रीका आकांक्षी भएकाले भुसालको नेतृत्वमा सरकारमा पठाउनुपर्छ मत रहेको समाजवादीका नेताहरूको भनाइ छ । उपराष्ट्रपतिको निर्वाचन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिँदा प्रधानमन्त्री प्रचण्डको काँधमा १६ वटा मन्त्रालय छन् ।