Breaking

उपराष्ट्रपति उम्मेदवार यादवको दौडधुप सुरू


काठमाडौँ – आफ्नो उम्मेदवारी कायम भएसँगै उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको दौडधुप सुरू भएको छ ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवार जसपा सांसद यादवले सोमबार विभिन्न पार्टीका प्रमुख नेतालाई भेटेका छन् । उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग राख्दै निर्वाचन आयोगमा उजुरी समेत परेको थियो। तर आयोगले यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पाएको जसपाले दुई जना उम्मेदवार बनाएको थियो ।

जसपा संसदीय दलका नेतासमेत रहेका यादवको उम्मेदवारी खारेज भएमा राष्ट्रिय सभा सांसद प्रमिला यादवलाई अघि सार्ने गरी उम्मेदवार बनाएको थियो । जसपा सांसद प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । आयोगको सूचीमा उनको उम्मेदवारी रहे पनि राजनीतिक रूपमा भने फिर्ता लिएकी हुन् । उपराष्ट्रपतिका उम्मेदवार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यादवलाई जितको लागि शुभकामना भनेका थिए । जसपाका सांसदले उपराष्ट्रपतिमा मत दिन आग्रह गरेका थिए । तर लिङ्देनले मत दिने या बहिष्कार गर्ने भनेर पार्टीले निर्णय गर्न बाँकी रहेको बताएका थिए । राष्ट्रपतिको निर्वाचनमा राप्रपाले बहिष्कार गरेको थियो । यसअघि उपराष्ट्रपतिका उम्मेदवार यादवसहित जसपाका सांसदहरूले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छुट्टाछुट्टै भेटेका थिए । प्रचण्ड र नेपाल दुवैसँग सहयोगका लागि यादवले आग्रह गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई आफूहरूको साथ र सहयोग रहेको बताएको जसपाका नेता एवम् सांसद प्रदीप यादवले बताए ।