Breaking

स्ववियु चुनावलाई लक्षित गर्दै माओवादीले २२ क्याम्पसमा खटाए कमान्डर


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आगामी चैत ५ गतेको स्ववियु चुनावलाई लक्षित गर्दै पार्टीका शीर्ष नेताहरूलाई कमान्डरको रूपमा खटाएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरसहित उपत्यका २२ क्याम्पसमा कमान्डर खटाएर माओवादीले निर्वाचन जित्ने रणनीति बनाएको हो ।

स्ववियु चुनाव जित्ने गरी सबै भन्दामाथि पार्टीका शीर्ष नेतालाई कमान्डर बनाएको छ भने विद्यार्थी सङ्गठनका नेतालाई समेत जिम्मेवारी तोकेर पठाएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए । ‘हामीले यसअघिको चुनावमा उपत्यका राम्रो जित हासिल गरेका थियौँ । यो पटक पनि राम्रो नतिजा ल्याउन पार्टीका नेता र हामी विद्यार्थी नेताहरू खटिरहेका छौँ’ एमसीले भने, ‘काठमाडौँ उपत्यका माओवादीका लागि प्रतिष्ठाको विषय भएकाले चुनाव जित्ने गरी गृहकार्य जारी राखेका छौँ ।’ स्ववियु चुनावमा राम्रो नतिजा ल्याएर काठमाडौँमा माओवादी पार्टीको समेत राम्रो जग बसाल्ने एमसीले बताए ।
माओवादीले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा कमान्डरको रूपमा पार्टीबाट उपमहासचिव शक्तिबहादुर बस्नेतलाई खटाएको छ । पूर्व गृह मन्त्री समेत रहेका बस्नेतलाई चुनाव जित्ने गरी केन्द्रीय क्याम्पसको कमान्डर बनाएको हो । थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रवक्ता कृष्णबहादुर महरा र केन्द्रीय सदस्य तिलकराज भण्डारी, पुल्चोक क्याम्पसमा पार्टी उपमहासचिव पम्फा भुसाल र केन्द्रीय सदस्य अनिल शर्मा, नेपाल ल क्याम्पसमा सचिव देवेन्द्र पौडेल र केन्द्रीय सदस्य उत्तम अधिकारी, पाटक क्याम्पसमा सचिव लीलामणि पोखरेल र केन्द्रीय सदस्य युवराज चौलागाईलाई खटाएको छ । यस्तै जनप्रशासन क्याम्पसमा कल्पना धमला, महेन्द्ररत्न क्याम्पस चाहचलमा रामदीप आचार्य, विश्वभाषा क्याम्पसमा सूर्य सुवेदी, शंकरदेव क्याम्पसमा सचिव डिलाराम आचार्य, अमृत साइन्स क्याम्पसमा हिमाल शर्मा, सरस्वती क्याम्पसमा केन्द्रीय सदस्य जगत सिम्खडालाई खटाएको छ । यस्तै पब्लिक युथ क्याम्पसमा केन्द्रीय सदस्य देवेन्द्र पराजुली, काठमाडौँ शिक्षा क्याम्पसमा अन्जना विसंखे, तार्केश्वर क्याम्पसमा केन्द्रीय सदस्य अनिल शर्मा, कोटेश्वर क्याम्पसमा झक्कुप्रसाद सुवेदी र भक्तपुर क्याम्पसमा देवेन्द्र श्रेष्ठलाई कमान्डर बनाएको छ । यस्तै वाल्मीकि क्याम्पसमा केन्द्रीय सचिव डिलाराम आचार्य, पद्यकन्या क्याम्पसमा स्थायी समिति सदस्य शशी श्रेष्ठ, सानोठिमी क्याम्पसमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत र दिलीप प्रजापति, चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानमा केन्द्रीय सदस्य कल्पना धमला र अन्जना विसंखे, ग्रामीण आदर्श क्याम्पसमा हितबहादुर तामाङलाई कमान्डर बनाएको खटाएको छ । रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थीबाट विद्यार्थी संगठनले उपाध्यक्ष नरेश रेग्मीलाई खटाए पनि पार्टीबाट कसैलाई खटाएको छैन ।