Breaking

आईसीसी विश्वकप लिग २ : आज पीएनजीसँग भिड्दै नेपाल


काठमाडौँ – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय खेलमा घरेलु टोली नेपालले आज सोमबार पपुवा न्यु गिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको नेपाल दोस्रो खेलमा पनि सोही नतिजा दोहोर्‍याउन चाहन्छ ।

यसअघि आइतबार यूएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराई ऐतिहासिक जित हासिल गर्दै ४ वर्षका लागि ओडीआई मान्यता जोगाएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ । सिरिजका बाँकी दुई खेल जितेर नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ। घरेलु समर्थकको साथमा नेपाली टोली विश्वकप छनोटमा स्थान बनाउँदै अर्को किर्तिमान कायम गर्ने दाउमा मैदान उत्रनेछ ।

उता समूह चरणको पुछारमा रहेको पपुवा न्युगिनीले भने खेललाई प्ले अफ छनोट तयारीका लागि लिनेछ। समूह चरणको पुछारमा रहेको पीएनजीले अब विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ छनोट खेल्नुपर्ने हुन्छ । नेपाललाई जिते पनि पीएनजीको अंक तालिकामा कुनै परिवर्तन हुनेछैन ।

लिग २ का ३४ खेल खेलेको नेपाल १७ मा जित र १५ खेलमा हार भोग्दै ३६ अंकमा तालिकाको चौथो स्थानमा छ । नेपालले आजको खेलमा पीएनजीलाई हराए अंक तालिकामा २ अंक थप्नेछ । लिग २ सिरिजको अन्तिम खेलमा युएईलाई हराए नेपाल ४० अंक बनाउँदै तेस्रो स्थानमा उक्लनेछ । र, विश्वकप छनोटमा स्थान बनाउनेछ । सिरिजको एक हारले पनि नेपालले विश्वकप छनोट खेल्न प्लेअफको बाटो हुँदै जानुपर्नेछ ।

३४ खेलबाटै यूएईले १४ खेलमा जित र १७ खेलमा हार भोग्दै ३१ अंकमा छैटौँ स्थानमा छ । समान खेलबाट ५ मा जित र २८ खेलमा हार भोगेको पीएनजीले ११ अंक बनाउँदै तालिकाको पुछारमा छ । लिग २ का सबै खेल खेलेको अमेरिका १६ मा जित र १७ मा हार भोग्दै ३५ अंकका साथ पाँचौँ स्थानमा छ । आइतबार नेपालले हासिल गरेको जितले अमेरिका एक स्थान तल झरेको हो ।