Breaking

गठबन्धनमा विग्रह सुरू, उपराष्ट्रपतिमा तीन चिरा, एमालेमा छायो खुशी (भिडियोसहित)

प्रचण्ड-देउवा साना दल भिडाउँदै


काठमाडौँ – राष्ट्रपतिमा एक रहेको गठबन्धन उपराष्ट्रपतिको निर्वाचनसम्म पुग्दा तीन चिरा परेको छ ।

माओवादी र नेकपा एसले जसपा बोक्न खोज्दा नेपाली काँग्रेस बोलेको छैन । जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टी आफ्नै तरिकाले अघि बढेका छन् । गठबन्धनभित्र पनि मिनि गठबन्धन बनाएर एकले अर्काेलाई दबाबमा पार्ने नीति उनीहरु सबैको छ ।

राष्ट्रपतिमा साझा उम्मेदवार उठाएर सहमतिको सन्देश दिएको आठ दलीय गठबन्धनले उपराष्ट्रपतिको निर्वाचनमा तीन उम्मेदवार दिएर विग्रहको सुरुवात गरेको छ । गठबन्धनभित्र भद्र सहमति भएको भनिएपनि जसपाका उम्मेदवारविरुद्धै जनमत उभिएपछि एमाले खुशी छ । किनकि फागुन १३ मा आठ दललाई एक ठाउँमा राखेर राष्ट्रिय सहमति भनेका प्रधानमन्त्री प्रचण्डको चाहना जसपालाई उपराष्ट्रपति दिने थियो ।

जसमा काँग्रेस सभापति देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत थिए । तर शीर्ष नेतृत्वको सहमतिमा असहमति जनाउँदै जसपाका उम्मेदवारलाई स्वीकार्न जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टी तयार नभएपछि गठबन्धनमा गडबडी आएको छ । र अहिले जसपाका दुई र जनमतका एक गरि तीन उम्मेदवार गठबन्धनभित्रैबाट निर्वाचनमा होमिएका छन् ।

जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन चाहेको थियो । तर निर्वाचन आयोगबाट महिला नै हुनुपर्ने प्रावधान अघि सारिएपछि उसले प्रमिला कुमारीलाई समेत अघि सारेको छ । यीमध्ये कसलाई गठबन्धनलाई आधिकारिक बनाएर मत दिने हो, त्यो पनि अलमलमै छ । यता कार्यगत एकताको तयारीमा रहेका जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टी एक भएर गठबन्धनभित्र अर्काे मोर्चा खडा गरेका छन् । जसले राष्ट्रपतिजस्तै उपराष्ट्रपतिमा समेत अष्टलक्ष्मी शाक्य जस्तो बलियो उम्मेदवार उठाएको एमाले गठबन्धनको कलहकै कारण आफ्नो पक्षमा माहोल बन्ने बुझाइमा परेको छ ।

गठबन्धनभित्रको मतभेद् मत्थर पार्न प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाले पनि आवश्यक रुची देखाएका छैनन् । उनीहरुले अग्रसरता लिएको भए उपराष्ट्रपतिमा एउटै उम्मेदवार हुने सम्भावना थियो । तर माओवादी र काँग्रेस दुवैको आफ्नो भागमा नरहेको उपराष्ट्रपतिका लागि उनीहरुको चासो नपरेको प्रस्टै भएको छ । अब कसले कसलाई मत दिएर कसलाई चिड्याउने यसैले गठबन्धनभित्र विभाजनको सुरुवात गर्ने संकेत गरेको छ ।