खेलकुद

लिग टु क्रिकेटमा आज नेपाल र युएई भिड्दै


काठमाडौं- विश्वकप लिग टु क्रिकेटमा आइतबार नेपालले युएईको सामना गर्दैछ ।

काठमाडौंस्थित कीर्तिपुर क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरू हुने यो खेल जित्दै नेपाल तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ ।
सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ ।

विश्वकप लिग टु क्रिकेटमा आफ्ना सबै खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बन्दा ४४ अंकसहित ओमान दोस्रो, ३९ अंक जोडेको नामिबिया तेस्रो तथा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । नेपालले आजको खेल जिते तालिकाको चौथो स्थानमा अमेरिकालाई उछिन्नेछ । लिग टु क्रिकेटको अन्तिम श्रृंखला अहिले काठमाडौंमा चलिहरेको हो । नेपाल, युएई र पीएनजीबीचको यो श्रृंखला पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ ।
यो प्रतियोगिताको शीर्ष तीनमा पर्न नेपालले बाँकी रहेका सबै तीन खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीन टोली विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा छानिनेछ ।