Breaking

उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन


काठमाडौँ – निर्वाचन आयोगले आज (आइतबार) उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ ।

शनिबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका उजुरीउपर जाँचबुझ गरि आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

आगामी ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार चारजनाको उमेदवारी दर्ता भएको छ । उमेदवारविरुद्ध हिजै उजुरी दिने निर्वाचन कार्यतालिका थियो । उपराष्ट्रपति पदका उमेदवार जसपाका रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमत पार्टीले उजुरी दिएका छन् ।

राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको एमाले र जनमत पार्टीको जिकिर छ ।

यादवसँगै जसपाबाट प्रमिला यादवको पनि उमेदवारी परेको छ । रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनबाट एकजनाको नाममा सहमति नजुटेपछि तीनजनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गरेकाहरुले आजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने कार्यसूची छ । यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भइसकेका छन् ।