काठमााडौँ — आगामी चैत्र पाँच गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको दौडधूप र चुनावी तयारीले चुनावी माहोल ह्वात्तै बढेको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अन्तत आगामी चैत्र पाँच गते हुँदैछ । त्रिविसँगै देशैभरका आँगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको तयारीलाई तिव्रता दिएको छ ।
सबै विद्यार्थी संगठन स्ववियु चुनावमा होमिएको छ । स्ववियु निर्वाचनले क्याम्पस परिसरमा प्रचार सामग्री र विद्यार्थी संगठनका गतिविधिले तिव्रता पाइरहेको छ । आँगिक क्याम्पसका विद्यार्थी नेताहरु जसरी पनि चैत्र पाँचमा स्ववियु चुनाव हुने दावीसहित जीत आफ्नो पक्षमा पार्न जोडतोडले लागेका छन । चुनावका पूर्वसन्ध्यामा कोही विद्यार्थी नेताहरु टिकट प्राप्तीको जोडबलमा छन । कोही चुनावमा मत आफ्नो पक्षमा पार्ने तयारीमा सक्रिय छन ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका पार्टी सम्बद्ध विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा पनि तालमेल गर्ने निर्णय नै गरिसकेका छन । यता नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भने निर्वाचनमा एक्लै होमिने बताएका छन । शुक्रवार अनेरास्ववियुले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन ।
लामो समयपछि स्ववियु निर्वाचन हुन लागेकाले विद्यार्थी नेता मात्र होइन विद्यार्थी राजनीतिकै जगमा राष्ट्रिय राजनीतिमा उदाएका नेताहरु समेत उत्साहित छन । पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई स्ववियु निर्वाचनको तयारीमा सघाइरहेका छन । जीत आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका छन ।
चुनावी गतिविधिलाई तिव्रता दिईरहँदा विद्यार्थी संगठनबीच विभिन्न स्थानमा झपड समेत हुन थालेका छ । मतदाता नामावलीको विषयमा धेरै क्याम्पसहरुमा विवाद देखिएको छ । कतिपय स्थानमा झडप नै भइसकेको छ । उम्मेदवारका लागि तछाडमछाड नहुने कुरै भएन । तथापि विवाद र झडपकाबीच नै भएपनि लामो समयपछि यो पटक स्ववियु निर्वाचन हुनेमा सबै ढुक्क छन । (स्ववियु) निर्वाचनमा देशैभरमा मतदाता एक लाख ६२ हजार २६८ रहेको छ ।
प्रतिक्रिया