Breaking

युक्रेनमाथि रुसको अभूतपूर्व क्षेप्यास्त्र प्रहार, युक्रेनका कयौँ क्षेत्र विद्युतबिहीन


काठमाडौँ — युक्रेनमाथि रुसले पछिल्लोपटक अभूतपूर्व क्षेप्यास्त्र आक्रमण गरेको छ । गत जनवरी अन्तिमपछि रुसले ठूलो आक्रमण गरेको युक्रेनले दाबीे गरेको छ । रुसले विभिन्न खालका ८१ वटा क्षेप्यास्त्र प्रहार गरेकोे छ । युक्रेनमाथि रुसको अभूतपूर्व क्षेप्यास्त्र आक्रमण गरेको छ । रुसले विभिन्न खालका ८१ वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले जनाएको छ । जसमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र किन्जल समेत रहेको बताइएको छ । किन्जल क्षेप्यास्त्रले युक्रेनका सबै हवाई प्रतिरक्षा प्रणाली भेट्न सक्छ । आक्रमणपछि युक्रेनका कयौँ क्षेत्र विद्युतविहीन बनेको छ । रुसले पहिलो पटक यतिधेरै प्रकारका क्षेप्यास्त्रहरु प्रयोग गरेको छ । यसपटक किन्जलमा पनि ६ वटा प्रहार गरिएको छ ।

यसअघि यस्तो आक्रमण भएको सम्झना छैन युक्रेनी वायु सेनाका प्रवक्ता युरी इनातले भने । किभ, ओडेसा, खार्कीव, जापोरिजालगायत सहरमा अत्यन्त महत्वपूर्ण पूर्वाधार संरचना तथा आवासीय भवनमा आक्रमण भएको उनको भनाई छ । हालसम्म १६ जनाको ज्यान गएको जनाइएको छ । रुसले मार्च २ का दिन व्रियान्स्क क्षेत्रमा युक्रेनले गराएको आतंकवादी हमलाको जवाफमा सो आक्रमण गरिएको बताएको छ । मार्च २ मा केही युक्रेनी सैनिकहरु रुसको सीमामा घुसेर गोली चलाइभागेका थिए । सो क्रममा दुई नागरिक मारिएको रुसले जनाएको छ ।

यो आक्रमणमा रुसले प्रयोग गरेको किन्जल क्षेप्यास्त्रतर्फ सबैको ध्यान केन्द्रित भएको छ । यो रुसको रणनीतिमा परिवर्तनको संकेत भएको समेत विश्लेषण हुन थालेको छ । अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र किन्जल राष्ट्रपति भ्लादिमिर पुटिनले २०१८ मा महत्वपूर्ण हतियार भन्दै सार्वजनिक गरेका थिए । आवाजको गतिभन्दा कम्तीमा ५ गुणा छिटो उड्ने यो क्षेप्यास्त्रलाई रोक्न कठिन हुने बताइन्छ । गत फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्वको १ वर्ष वित्दा पनि युद्ध रोकिने कुनै सङ्केत छैन ।

गएको सेप्टेम्बरमा झन्डै छ हजार रुसी सैनिकको ज्यान गएको बताएपनि त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर सम्ममा १० देखि १३ हजारसम्म युक्रेनी सैनिकको ज्यान गएको जनाएको छ । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने बताएको छ । यद्यपि ज्यान गुमाउने गैरसैनिकको सङ्ख्याबारे भने केही बताएको छैन । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ ।