विदेश

भारतीय अभिनेता कौशिकको निधन


काठमाडौँ – भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्- ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् । कौशिकको निधनको कारणबारे आधिकारिक विवरणहरू भने आइसकेका छैनन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया-१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म छन् । उनले सन् १९९० मा ‘रामलखनु’ र सन् १९९७ मा ‘साजन चले ससुरालु’ फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए । रूप के रानी चोरोंका राजा (१९९३) का फिल्मबाट निर्देशनमा आएका कौशिकले ‘हम आपके दिलमे रहेते है’ (१९९९) ‘तेरे नाम’ (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए । कौशिकका परिवारमा पत्नी र एक छोरी रहेका छन् ।