Breaking

राष्ट्रपति निर्वाचनमा कसलाई सघाउला रास्वपा ?


काठमाडौँ — राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज निर्णय गर्दैछ । त्यसका लागि रास्वपाले आज पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।

राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर आज बिहान बस्ने बैठकले निर्णय गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।

आज बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति पदको निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पौडेलको पक्षमा खुलेका छन् ।

नेम्वाङको पक्षमा भने हालसम्म उनको पार्टी नेकपा एमालेमात्र छ । राप्रपाले तटस्थ बस्ने निर्णय बुधबारै गरिसकेको छ भने यो समाचार तयार पार्दासम्म रास्वपासहित नेमकिपा, हाम्रो नेपाली पार्टी र स्वतन्त्र सांसदहरु अनिणिर्त छन् ।