Breaking

नयाँ राष्ट्रपतिको निर्वाचनको तयारी पुरा, यसरी हुँदैछ मतदान, मुलुकले भोलि नै नयाँ राष्ट्रपति पाउने


काठमााडौँ — फागुन २५ गते अर्थात भोलि मुलुकको नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतबदरलाई मध्यनजर गर्दै आयोगले राष्ट्रपति चुनावमा पहिलोपटक फोटोसहितको मतपत्र प्रयोग गर्दैछ । बिहिवार साँझ नै राष्ट्रपतिको नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । बिहिवार चौथो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले बिहिवार नयाँ राष्ट्रपतिको निर्वाचन निर्वाचन हुन लागेको हो ।

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र तयार गरिएको छ । ८ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनका लागि ३ सय ३४ जना सङ्घीय सांसद र ५ सय ५० जना प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र तयार गरिएको छ । यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेपनि यो पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र प्रयोगमा ल्याइएको हो ।

मत बदर कम गर्न यसपालि फोटोसमेत राखिएको निर्वाचन आयोगले जनाएको छ । १० बजेदेखि ३ बजेसम्म मतदान रहेको र मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र बिहिबार बेलुका ७ बजेसम्म परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ । ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मुलुकको तेस्रो राष्ट्रपतिको दौडमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । जीत आफ्नो पक्षमा पार्न सबै अस्त्र प्रयोग गरिरहेको आठ दलीय गठबन्धन र नेकपा एमालेले मतदानबारे आफ्नो सांसदहरुलाई तालिम समेत दिइसकेका छन ।

२०६८ को जनगणनालाई आधार मानी संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्नेछ ।