Breaking

महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा


काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।

११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलाविरुद्ध हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा सभापति देउवाले भनेका छन्, ‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो ।’

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको र सामाजिक एकता तथा सद्‌भाव कमजोर बनाउने कारण पनि भएको उल्लेख गरेका छन् ।

कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहने उल्लेख गर्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउने विश्वास उनले गरेका छन् ।

सभापति देउवाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन् महिलाले आफ्नो प्राणको आहुति दिएको उल्लेख गर्दै उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्बद्र्धनका लागि महिलाको अझ महत्त्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण महिलामा शुभकामना व्यक्त गरेका छन् ।