Breaking

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै


काठमाडौँ – भोलि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार बैठक पार्टी केन्द्रीय कार्यालय (धुम्बाराही) मा दिउँसो १ बजे बस्नेछ ।

राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा मतदान गर्नुपर्ने र गर्न नहुने भन्नेमा नेताहरू बाँडिएका छन् । राप्रपा राजावादी पार्टी भएकाले राष्ट्रपति चुन्ने चुनावमा सहभागी हुन नहुने तर्क पनि राप्रपाभित्र भइरहेको छ ।

राप्रपा राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसैको पनि प्रस्तावक र समर्थक बनेको छैन । राष्ट्रपति पदका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् । दुवै नेताले राप्रपाको कार्यालयमै पुगेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । त्यसबेला राप्रपा नेताहरूले यस विषयमा पार्टी बैठक बसेर निर्णय गरिने जवाफ दिएका थिए ।