Breaking

दुर्गादेखि धर्मरायो गणतन्त्र, प्रसाईमाथि खनिए प्रचण्डदेखि लिङदेनसम्म, अराजक प्रसाईलाई तह लगाउने


पूर्वराजा ज्ञानेन्द्र शाहकै उपस्थितिमा झापाका दुर्गा प्रसाईले एउटा महाअभियान थाले । राष्ट्र राष्ट्रियता संस्कृति र नागरिक बचाउ महाअभियान । काठमाडौ आइपुग्दा यो महाअभियान विशुद्ध राजसंस्था र हिन्दुराज्यको पक्षपोषण चित्रित थियो । उनको यो अभियानले दलहरुलाई समेत झस्काई दिएको छ । गणतन्त्रवादी र राजवादीबीच संघीय संसदमा चलेको जुहारी ताजै छ । यो घटना सेलाउन नपाउँदै अभियन्ता दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्र शाहकै उपस्थितिमा मेची–पुलबाट ‘राष्ट्र–राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान’ सुरु गरे ।

शनिवार काठमाडौमा राजसंस्था र हिन्दुराज्यको पक्षमा बृहत जनप्रदर्शन नै गरे । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईले नेतृत्व गरेको जनप्रर्दशन व्यवस्था विरुद्ध विरोधसहित चर्को नारावाजी मात्र लागेन यो व्यवस्था ढालेर राजा फर्काउने उद्घोष गरिरहेका छन । राजालाई राजनीतिको विकल्प मान्न थालेका छन । पूर्व राजाले समेत हौसाएका छन ।

यता प्रसाईको शक्ति प्रर्दशनपछि सत्तारुढ दल झस्किएको छ । न त कुनै संगठन न त कुनै दल आफ्नो सानो झुण्डसहित दुर्गा प्रसाईको शक्ति प्रर्दशनपछि सत्तारुढ दलहरु छलफल नै गर्नुपर्ने अवस्थामा पुगेको छ । आइतवार बालुवाटारमा बसेको सत्तारुढ नौ दलको वैठकले दुर्गा प्रसाई लक्षित गर्दै राजसंस्था फर्काउन भइरहेका गतिविधिलाई ‘अवाञ्छित गतिविधि’ भन्दै निन्दा गरेका छन् । संविधान विपरीतको गतिविधि भएको उल्लेख गरेका छन ।

नौ दलको बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि एकताबद्ध भएर उभिने निष्कर्ष नै निकालेको छ । राजावादी भनिनेहरुलाई सत्ताको ललीपप देखाएर लोभ्याउन, अलमल्याउन सफल रहेका दलहरु सशंकित बनेका छन । यता जति नै ठुलो राजावादी कहलिए पनि, दावी गरेपनि गणतन्त्रवादीहरुसँग मिलेर सत्ता र शक्तिको स्वादमा रमाएका राजावादीहरु दुर्गा प्रसाई र उनको अभियानलाई अराजकताको संज्ञा दिन भ्याएका छन ।

राजतन्त्रको अन्त्य पश्चात् राजसंस्था र हिन्दु राज्य पुर्नस्थापना गर्ने हुँकार गर्ने आफुलाई उत्तरधिकारी नै ठान्ने कमल थापा, राजेन्द्र लिङदेनदेखि रविन्द्र मिश्रसम्म सबै व्यक्तिगत स्वार्थमा चिरा–चिराको अवस्था छ । विकल्प भनिएका वैकल्पिक शक्तिहरु आफै क्षयिकरण उन्मुख हुँदा ठुला र शीर्ष राजनीतिक दल र नेतृत्वको हालीमुहाली र मनोमानीले परकाष्ट नाघेको छ । फलत मुलुकको अवस्था र नेतृत्वको रवैयाका कारण व्यवस्थाकै विकल्प खोज्नेको जमात बढ्दो छ ।

राजावादी भनिएकाहरु सत्ता र शक्तिको जोड घटाउमा गणतन्वादीहरुसँगै साँठगाँठमा लिप्त रहेका बेला कुनै व्यक्ति वा समूहले चलाएको राजसंस्था फर्काउने अभियान चासोपूर्ण पक्कै छ । तर यस्ता अभियानहरुले व्यवस्थालाई धक्का दिन कति सम्भव छ वा दलीय व्यवस्थामा यस्ता अभियानहरु कसरी अगाडि बढ्छ, अभियानमा मात्र सिमित राख्छ या पार्टीको रुप अथवा अरु कुनै विकल्प थप चासो स्वभाविक छ ।