काठमाडौँ — खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशले खेलकुदमा गरेको लगानीको मापन हुन्छ । विश्वका हरेक देशले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रूपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रको अनावश्यक राजनीतिका कारण भविष्य अन्योल हुँदा खेलाडीले पलायनको बाटो रोजिरहेको खेलविज्ञ बताउँछन् ।
राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छदैछ, खेलकुद क्षेत्रको भविष्य धराप बन्दै गएको छ । पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुनिल बल पनि अस्ट्रेलिया उडेका छन् । बललाई अष्ट्रेलियाको नेपाली क्लबले स्थानीय प्रतियोगितामा भाग लिन आमन्त्रण गरेको छ । बल ए डिभिजन लिगका लागि स्वदेश फर्किने हो कि छैन भन्ने निश्चित छैन् । उनी संकटा क्लबसँग आवद्ध छन् । नेपालको कमजोर फुटबल संरचना र त्यसबाट जीवन निर्वाह गर्न कठिनाइका कारण खेलाडीहरु नेपाल छाड्न बाध्य छन् ।
फुटबलका ३० खेलाडीले आफ्नो करियर छाडेर रोजगारीका लागि अष्ट्रेलिया पुगेका छन् । अस्ट्रेलिया जाने ३० खेलाडीमा राजन गुरुङ, रुमेश बर्तौला, रवि थिङ, आमिर श्रेष्ठ, मिच्छेन तामाङ, सन्तोष तामाङ, दर्शन गुरुङ, विमल बस्नेत हेमन गुरुङ, विमल राणा, रोहित कार्की र एलन न्यौपाने रहेका छन् ।
प्रतिक्रिया