विदेश

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता, अमेरिकी आग्रह स्वीकार्न नसक्ने रुसको दावी


काठमाडौँ — अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भारतमा आयोजित जी–२० सम्मेलनको अवसर पारेर छुट्टै भेटवार्ता गरेका छन् । उनीहरु बीच करिब १० मिनेट भेटवार्ता भएको र वार्तामा रुस–युक्रेन युद्धका विषयमा समेत कुराकानी भएको छ । करिब एक वर्षको अन्तरालमा पछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच भारतमा आयोजित जी–२० सम्मेलनमा भेटवार्ता भएको छ । रुस–युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएकोे छ ।

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी २० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा सामान्य कुराकानी भएको बताइएको छ । लाभरोभले जी–२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गरेका थिए । यद्यपि त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएको थिएन । अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुने नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेका थिए ।

तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ । झन झन थप आक्रामकरुप लिदै गरेको रुस युक्रेन युद्धमा संयुक्त राज्य अमेरिकाले पछिल्लो समय युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ । अप्रत्यासित रूपमा किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलब्ध गराउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसमक्ष बाचा गरेका थिए ।

गत फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्वको १ वर्ष वित्दा पनि युद्ध रोकिने कुनै सङ्केत छैन । दुवैतर्फ गरी खर्बौको भौतिक क्षति भएको छ भने लाखौंको ज्यान गइसकेको छ । शतिmशाली दुई राष्ट्रको यो भेटवार्तामा रुस–युक्रेन बीच युद्धविराम हुने आशा गरिएता पनि एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीचको भेटवार्ता र अभिव्यक्तिले रुस–युक्रेन युद्ध अझै लम्बिने अनुमान छ ।