Breaking

गगनको लोभ, प्रचण्डको ‘फ्यान’ बनेर प्रशंसा, एमालेका गोकुलसँग गगनको टक्कर, प्रचण्डमाथि ५ हजारको मुद्धा


काठमाडौँ — प्रचण्डलाई नेता मान्दै प्रधानमन्त्री नै बनाएका एमालेहरु फागुन ११ उता खाली प्रशंसामात्रै गर्दथे । तर सत्ता गुमाएसँगै प्रचण्डप्रति उनीहरुको व्यवहार पनि फेरिएको छ । अहिले प्रचण्डको प्रसंशा गर्ने जिम्मा काँग्रेसले पाएको छ । जसले नेपाली राजनीतिको विकृत पाटोलाई छताछुल्ला बनाएको छ । काँग्रेस महामन्त्री गगनकुमार थापा आजभोलि प्रचण्डका ‘फ्यान’ बनेका छन् । तारिफमा तारिफ, तारिफमा तारिफ । गगनले प्रचण्डको तारिफ नगरेको दिन नै बाँकी छैन । जहाँ बोल्छन्, प्रचण्डलाई सबथोक बनाएर बोल्छन् ।

गगनप्रचण्डको प्रभावशाली ‘फ्यान’ बन्नुको पनि कारण छ । काँग्रेसकै बिल्लीबाठ बनाएर पुस १० मा ओलीको फेरो समाएर प्रधानमन्त्री बनेका प्रचण्ड फागुन ११ मा गठबन्धन भत्काउँदै पुनः काँग्रेसकै कित्तामा पुगेपछि गगन प्रशंसक बनेका हुन् ।‘सय खुन माफ’कै शैलीमाअब गगनका नजरमा प्रचण्ड सर्वाेत्कृष्ट वर्षव्यक्ति झैँ बनेका छन् । दुईमहिनामै सरकार फेरबदल गर्दै अस्थिरता मच्चाएको विषय पनि गगनको नजरमा गौण बनेको छ । सरकारी हैसियत नै नभएका गोविन्द बन्दीलाई जेनेभा पठाएर प्रचण्डले राष्ट्रका नाममा कुटनीतिक अराजकता मच्चाएको विषय पनि गगनलाई मन परेकै छ ।

बजारको माहोल हेर्दै बोल्न आदत परेका गगन अहिलेसम्मका नजिरलाई लत्याएर सरकारबाहिरको व्यक्तिलाई मानवअधिकार परिषद्मा पठाउनुको कारण पनि माग गर्दैनन् । भारत रिसाउने डरकै कारण सरकारले तरकारीको विषादी जाँच नै रोकिदिएपनि गगनको गनगन फुटेको छैन । किनकि उनी प्रचण्डको फ्यान हुन् । कुनदिन ‘१७ हजारको भारी म आफैँ बोक्छु प्रचण्ड ज्यू’ भन्दै लम्पसार पर्न पनि बेर छैन । तर ‘घाम लाग्दा एउटा पानी पर्दा अर्कै’ भनेझैँ पुस १० मा सत्ताको सबथोक गुमाएपछि उनैले प्रचण्डलाई बेइमान भनेका थिए ।

सत्ता र शक्ति आफ्नो हातमा आएसँगै कसैको कचकच र गनगन नसुन्ने गगनको नीति छ ।आफुलाई अर्थमन्त्री बनाएर जाने प्रचण्डको संकेत पाएलगत्तै गगन खातिरदारीमा उत्रिएको टिप्पणी नभएको पनि होइन । यसैकारण मन्त्रीकै लोभमा लालच देखाएर बेइमानहरुको बचाउ गर्नु सायद गगनको नियती बनेको छ ।

गगनको ठ्याक्कै उल्टो बाटोमा छन्, एमालेका गोकुल बास्कोटा ।‘आफुले लगाए भस्मधारण अरुले लगाए खरानी’कै शैलीमा उनी प्रचण्डको विरोधमा उत्रिएका छन् । जबकि पुस १० मा प्रचण्ड बालकोट प्रवेश गरेपछि यीनैले भोज चलाएका थिए । अहिले च्वाट्ट लत्तो छोडिदिएपछि धोका दिएको, बेइमानी गरेको, अस्थिरता मच्चाएको भन्दै रडाको मच्चाएका छन् । गगन फ्यान भएको विषयलाई मजाकै उडाएर ‘प्रचण्डको पाउमा तेल घसेको’ बताइरहेका छन् । प्रचण्डले ५ हजार मारेको जिम्मा लिन्छु भनेको विषयमा सर्वाेच्चले रिट दर्ता गर्न आदेश दिएकै दिन बास्कोटाले बच्नकै लागि काँग्रेसको कित्तामा उभिएको दाबीसमेत गरेका छन् ।

एउटा ७० करोडको काण्डले चर्चित छन् । अर्काे बाख्रा काण्डको भाष्यले नाम, शान कमाएर नेपालीमाझ परिचित छन् । यी दुवै नेताले बोल्दैमा जनताको दैनिकीमा खासै फरक परेको छैन ।किनकि उनीहरु मौसमको रङ हेर्दै बोल्छन् । तर प्रचण्डको सत्ता साटफेरसँगै फेरिने उनीहरुका बोली वचनले सत्ता नै सबथोक, सत्तामा हुँदा सबै सत्य र सत्ता नै अन्तिम सत्य भन्ने मान्यता स्थापित गर्न आशावादी भनिएका यी नेताहरु लागिपरेको स्पष्ट छ । किनकि उनीहरु प्रचण्डभन्दा पनि बढी रङ फेर्छन् ।