Breaking

गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी


काठमाडौँ — नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको छ । शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिनुभएको हो ।

उहाँले आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने बताउनु भयो । उहाँले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । महामन्त्री थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसका कोही पनि नेताहरुलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिले भर्खर म समाचार पढ्दै थिएँ । हामी लोसपाको कार्यालयमा गयौँ, लोसपा हामीलाई मत दिन यो त हाम्रो क्याम्पसको चुनावमा पनि हुँदैनथ्यो । त्यहाँपनि हामी अलिकति निर्वाचनको मर्यादा राख्थ्यौँ । नेकपा एसको कार्यालयमा आयो, नेकपा एस हामीलाई चुनावमा मतदान दिन सकारात्मक भएको छ, लोसपाको कार्यालयमा गयो लोसपा सकारात्मक भएको छ । यो तहसम्म साथीहरु आएर निर्वाचनको बेलामा यसलाई अल्मल्याउने कोशिस गरिराख्नुभएको छ । र फागुन २५ गतेपछि नेपाली काँग्रेसको नेतृत्वमा फेरि सरकार बन्छ ।

यो गठबन्धन टिक्दैन, पाँच वर्ष जे समझदारी भएको छ, यो पटक हामीपनि संलग्न छौँ । नेपाली काँग्रेसको तर्फबाट महामन्त्रीको हैसियतबाट पनि यो कुरा भन्छु, नेपाली काँग्रेस पार्टी यो पटक सबैभन्दा बढी जिम्मेवारीका साथ कुनैपनि पार्टीलाई क्षति होस् । व्यक्तिलाई क्षति होस् । तर यो नेपालको राजनीतिक दलहरुको इमान्दारीतामाथि प्रश्न पनि भयो । पार्टीको प्रतिष्ठा माथिको प्रश्न पनि भयो । विश्वसनीयतामाथि प्रश्न पनि भयो । त्यसैले नेपाली काँग्रेस पार्टीसँग अब कोही चकचक गर्न नआए हुन्छ । कोही चल्न नआए हुन्छ । पाँच वर्ष यो कहीँ कतै जे समझदारी गरेर अस्ति आएका छौँ । कहीँ, कतै, कोही, धराप थाप्न नआए पनि हुन्छ । कसैले यसलाई अल्मल्याउन नखोजेपनि हुन्छ । र कोही नअल्मल्लिए पनि हुन्छ । पार्टीका कोही कसैलाई भेटेर फेरि नेपाली काँग्रेससँग चकचक गर्ने काम बन्द गरे हुन्छ यसबाट केही निस्कनेवाला छैन । तेल निस्कनेवाला छैन यो कुरा राम्रो सँग बुझे हुन्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको स्पष्ट पार्नुभयो । दाहाललाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भएपनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उहाँको भनाई छ । त्यस्तै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार हुने स्थिति रहेको बताउनु भयो । उहाँले गठबन्धनलाई बचाएर लानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने कुरा नै महत्वको कुरा थियो र त्यो कुरा नै प्रधान कुरा थियो भने यो गठबन्धनमा आइराख्नै पर्दैनथ्यो । यो गठबन्धन बनाउनै पर्दैनथ्यो । माओवादी केन्द्रले उपराष्ट्रपति पनि पाउँथ्यो । माओवादी केन्द्रले नेकपा(एमाले)को समर्थनमा पाँचै वर्ष प्रधानमन्त्री पनि पाउँथ्यो ।

ल्याप्चे, तमसुक, कालो दलेर जे जे गरिदिनुपर्ने हो उठेर, बसेर सबै गरिदिन्थ्यो । सबै कुरा पाउँथ्यो । बरु प्रधानमन्त्री हुने कुरा तलमाथि भए होस्, तर जुन उद्देश्यका साथ गठबन्धन बनाइयो त्यो गठबन्धन फेरि ब्युतन्छ र फर्कन्छ भने म त्यो जोखिम उठाउन तयार छु भन्ने कुरा माओवादी केन्द्रका अध्यक्षले त्यो कुरालाई नमानेको भए, त्यो कुरा गर्न तयार नभएको भए यो बाटो अगाडी बढ्ने अवस्था बन्दैनथ्यो । माधवकुमार नेपाललाई यतिखेर नेकपा(एमाले)ले मिलाएर राष्ट्रपति बनाउने कुरा मात्रै होइन यो बेलामा अन्तिम अन्तिममा मेरो अनुमान माधवकुमार नेपाललाई नेकपा(एमाले)को अध्यक्ष नै बनाइदिनुपर्छ भनेको भएपनि ल हुन्छ भन्ने अवस्था बन्थ्यो होला । माधवकुमार नेपाल त्यो सबैकुरा छोडेर आउन तयार नभएको भए यो अवस्था बन्दैनथ्यो ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी केन्द्रका सबै वागमती प्रदेश सभा सदस्यहरुको मत राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आठ दलले गरेको निर्णय माओवादी केन्द्र प्रदेश सभाले अक्षरश पालना गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश सभा दलको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुपर्दा हामी २१ जना छौँ । हामी २१ जनामा हाम्रो कहीँ पनि तलमाथि हुँदैन । हामी निश्चिन्त छौँ । उहाँले जित्ने कुरामा पनि ढुक्क छौँ । हाम्रो दल आठ दलले गरेको जुन निर्णय छ, त्यो निर्णयलाई अक्षरश पालना गर्छौं । उहाँले निर्वाचनको बेलामा अनेक खालका भ्रमहरु छरिनेभएकाले त्यसप्रति सचेत हुन सबै सांसदहरुलाई आग्रह समेत गर्नुभयो ।