देश

पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै


काठमाडौँ – कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाँदै हुनुहुन्छ । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन् ।

सम्मेलन आइतबारदेखि मङ्गलबारसम्म चल्ने छ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नुहुने छ । श्रेष्ठले विभिन्न देश तथा संघ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची समेत रहेको छ । यसअघि यो सम्मेलनमा प्रधानमन्त्री जाने तय गरिए पनि अन्तिम समयमा रद्ध भएको थियो ।