Breaking

मन्त्रालय भागबण्डामा हानथाप, आरजु मन्त्री बन्ने कि गगन ? माधवलाई चाहियो ठूलै भाग, प्रचण्ड संकटमा


काठमाडौँ — सरकार गठन भएको दुई महिनाकै अवधिमा समीकरण फेरबदल भएपछि १६ मन्त्रालय खाली छन् । एमाले नेतृत्वको गठबन्धन भत्किएसँगै काँग्रेस सरकारमा जाने तयारी गरेको छ । तर राष्ट्रपतिको निर्वाचन, भागबण्डाको सकस र प्रधानमन्त्रीले समेत विश्वासको मत लिन बाँकी नै रहेकाले मन्त्रालय अझै नेतृत्वविहिन बन्ने पक्का भएको छ । सरकारको नेतृत्वसहित १६ मन्त्रालयको मन्त्री पनि आफै बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेराष्ट्रपतिको निर्वाचनअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने छाँट देखाएका छैनन् ।

किनकि एमाले र राप्रपा बाहिरिएपछि रिक्त रहेका १६ मन्त्रालयमा आठ दललाई मिलाएर जान प्रधानमन्त्रीलाई संकटकै विषय बनेको छ ।त्यसमा पनि राष्ट्रपतिको निर्वाचनअघि नै भागबण्डा मिलाउँदा गठबन्धनमा गडबडी आई सरकार नै संकटमा पर्ने र राष्ट्रपतिमा गठबन्धनका उम्मेदवारले जित्ने सम्भावनामाथि पनि जोखिम आउन सक्ने बुझाई प्रचण्डको छ । यसैकारण उनीफागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनपछिमात्रै विश्वासको मत र सरकार विस्तारको तयारीमा छन् ।

पुस १० मा बनेको सरकारबाट रास्वपा गृहमन्त्री नपाएकै झोकमा माघ २२ मैनिस्किएपछि खाली मन्त्रालयको भार प्रधानमन्त्रीकै थाप्लोमा थियो ।तथापि उसको समर्थन अहिलेसम्म कायमै छ । किनकि गठबन्धनभित्रका दल बदलिएपनि सरकार कायमै रहेको भन्दै सभापति रवि लामिछानेले पुनः सरकारमा सहभागिताका लागि प्रधानमन्त्री प्रचण्डसँग लबिङ गरिरहेका छन् । यता समीकरण फेरबदल भएलगत्तै राप्रपाले सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्रीकै थाप्लोमा थप मन्त्रालय थपिएका थिए ।

झन प्रचण्डले राष्ट्रपतिमा धोका दिएको भन्दै गठबन्धनको नेतृत्वकर्ता एमाले नै बाहिरिएपछि एकैपटक १६ मन्त्रालय खाली बनेका हुन् । यसरी खाली भएका मन्त्रालयमा काँग्रेससहित, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई भित्र्याउने तयारी प्रचण्डले गरेका छन् । तर गठबन्धनभित्रकै दलबाट हुनसक्ने सम्भावित जोखिम र दलभित्रका आकांक्षी व्यवस्थापनकै विषयमा संकट परेपछि यसलाई राष्ट्रपतिको निर्वाचनपछि सारिएको हो ।

एमाले बाहिरिएपछि सत्ता सम्हाल्न आएको नेपाली काँग्रेसभित्रै आकांक्षी व्यवस्थापनमा सबैभन्दा बढी हानथाप छ । उपसभापति पूर्णबहादुर खड्काले सार्वजनिक रुपमै आफु प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने बताएपछि काँग्रेसको नेतृत्व गर्दै सरकारमा सामेल हुने पात्रको खोजीभइरहेको छ । जसमा सभापति पत्नी आरजु राणा देउवादेखि महामन्त्री गगनकुमार थापासम्म चर्चामा आएका छन् ।प्रकाशमानसिंहदेखि शेखर र शशांक कोइरालासम्म पार्टीको नेतृत्व गर्दै सरकारमा जान इच्छुक देखिएका छन् । यसका लागि उपप्रधानसहित गृह र अर्थ काँग्रेसको रोजाइमा छ ।

यी दुवै मन्त्रालयमा बलियो पात्रको खोजी गरिरहेका देउवा–प्रचण्ड दुवैले साँचो आफैसँग राख्न चाहेका छन् ।देउवाले भने गृह पाए एनपी साउदलाई पठाउने तयारी गरेको निकटस्थ स्रोतको भनाई छ ।गगनकुमार थापालाई उपप्रधानसहित अर्थमन्त्री बनाएर जाने विषयमा समेत चर्चा भइरहेको छ । तर गृह र अर्थमध्ये एक आफैले राख्नुपर्ने माओवादीको चाहनाले सजिलै सहमति हुने अवस्था छैन । यसले महिनौंसम्म सरकारका कामकारबाही नै प्रभावित पार्ने जोखिम बढेको छ ।

प्रधानमन्त्री प्रचण्डको राष्ट्रिय सहमतिको चाहनाका अघिराष्ट्रपतिसमेत गुमाउन तयार भएको नेकपा एकीकृत समाजवादीले समेत सरकारमा बलियो हिस्सा दाबी गरिरहेको छ ।ओलीको प्रस्ताव नै लत्याएर आठ दलीय गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउन अघि सरेको समाजवादीले गृह र अर्थमध्येएकमा आफ्नो हक हुने बताइरहेको छ । यसका लागि राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, प्रेम आले र किसान श्रेष्ठसम्मको नाम चर्चामा छ ।

तर समीकरण फेरबदलमा उल्लेख्य भूमिका निभाएकै कारण उपमहासचिव प्रकाश ज्वालाको सम्भावना बलियो रहेको चर्चा पार्टीभित्रै भइरहेको छ । त्यसबाहेक उपराष्ट्रपतिमा दाबी गरिरहेको जसपालाई कति मन्त्रालय दिने भन्ने विषयमै गठबन्धनभित्र सहमति भएको छैन । सरकारमै हिस्सा खोजिरहेका लोसपा र नागरिक उन्मुक्ति पार्टीको व्यवस्थापन पनि गठबन्धनका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।