Breaking

देउवा, प्रचण्ड र माधवको अठोट, एउटै मत–एउटै मञ्च, राष्ट्रपतिमा एमालेलाई हारको स्वाद चखाउने


काठमाडौँ — राष्ट्रपति निर्वाचनमा गठबन्धन बनाएका आठ दलीय गठबन्धनका नेताहरु एउटै मञ्चमा उभिएर रामचन्द्र पौडेलका पक्षमा मतदान गर्न प्रतिबद्ध बनेका छन् । तर पनि एमालेको सत्ता समीकरण भत्काउने प्रयास र साना दलको च्याखे नीतिले नेतृत्व दबाबमा परेको छ । रामचन्द्र पौडेललाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा अघि सारेको आठ दलीय गठबन्धन एउटै मत र एउटै मञ्चमा उभिन थालेको छ । बिहिबार सांसदलाई सचेत बनाउन आयोजित कार्यक्रममा पनि आठ दलका एक ठाउँमा थिए । जहाँ राष्ट्रपतिको उम्मेदवार रहेका पौडेलले आफ्नो उम्मेदवारीप्रति सबै सकारात्मक रहेको दाबी गरे ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको पहिलो बैठकमा संसद् विघटन ठीक थियो भनेपछि समीकरण फेरिएको बताए । पुस १० मा प्रधानमन्त्री बन्दा एमालेबाटै राष्ट्रपति बनाउने सहमति गरेका प्रचण्डले ओलीलाई सहमतिमा ल्याएर काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न गरेको आग्रह नमानेपछि आफु फेरिएको सन्देशसमेत दिए । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान रक्षाको प्रश्न नै प्रमुख भएकाले पौडेललाई समर्थन दिएको बताए । उनले राष्ट्रपतिको कर्तव्य र जिम्मेवारीको प्रष्टता आवश्यक रहेकाले राष्ट्रिय शक्ति एकताबद्ध हुन आवश्यक रहेको समेत बताए ।

आठ दलीय गठबन्धनविरुद्ध उभिएर आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा बाजी पलट हुने एमालेको दाबीका अघि गठबन्धन भने पौडेलले जित्नेमा ढुक्क छ । प्रदेशका समेत दुई दल थपिएपछि आफु झनै शक्तिशाली बनेको मत नेपाली काँग्रेसको छ । आठ दलीय गठबन्धनभित्र सामेल भएका साना दलहरुले भने आफ्नै स्वार्थलाई महत्व दिएर पौडेललाई समर्थन दिएको बताएका छन् । नागरिकता विधेयक, संविधान संशोधन र राजनीतिक बन्दीहरुको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिवद्धता आएपछि मात्रै आफुले समर्थन दिएको दाबी लोसपाका नेताहरुको छ ।

आठ दलीय गठबन्धनमा उभिएका दलहरुको मतभारले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने विषयमा दुईमत छैन । तर प्रचण्डकै धोकाधडीले सत्ता गुमाउँदै राष्ट्रपतिसमेत गुमाउने अवस्थामा रहेको एमाले चमत्कारिक जित निकाल्ने बताइरहेको छ । यसका लागि एमालेले काँग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि माओवादीसहितका दलहरु भने सशंकित बनेका छन् । फलतः राष्ट्रपतिको निर्वाचनपछि काँग्रेसले उठाउने मूभकै आधारमा राजनीतिक कोर्ष करेक्सनको सम्भावना बलियो बन्दै गएको छ ।