Breaking

प्रचण्डको सिंहदरबार सुनसान, मन्त्रीविहीन हुँदा सास्तीमा नागरिक, अस्थिरतातर्फ देश


काठमाडौँ — संघीय सरकारका मन्त्रीहरुको थातथलो सिंहदरबार अहिले खाली सरह छ । मन्त्रालयमा मन्त्रीको पदपूर्ति हुन नसक्दा कर्मचारीहरुलाई हाइसञ्चो छ भने सेवा लिन आएका सेवाग्राहीको बिचल्ली भएको छ । हाल सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९९ प्रतिशत सांसदका विश्वासको मत जित्दै इतिहासकै पहिलो प्रधानमन्त्री बन्ने कीर्तिमान र अवसर दुवै प्राप्त गरे । तर,उनले प्रधानमन्त्री भएर मन्त्रिपरिषद्को नेतृत्व गर्दै गर्दा सिंहदरबारभित्र रहेका अन्य १६ मन्त्रालयको कुर्सी भने खाली नै छ । सबैभन्दा बढी विश्वासको मत लिएर कीर्तिमान राखेका प्रचण्डले सबैभन्दा धेरै मन्त्रालय लिएर पनि कीर्तिमानी राख्न सफल भएका छन् ।

प्रधानमन्त्री प्रचण्डको काँधमा अहिले १७ मन्त्रालयको जिम्मेवारी छ । प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु स्वार्थको जोडघटाउमा लागेर सत्ता टिकाउने र गिराउने खेलमा लाग्दा मुलक संकट तर्फ धकेलिदै छ । सत्ता समीकरण फेरिएर साझेदार दलका मन्त्रीहरुले धमाधम राजीनामा दिएर सरकार छोडेपछि १६ मन्त्रालय खाली छ । मन्त्री नभएपछि हाकिम देखि पिउनसम्मका कर्मचारी निकै फुर्सदिला बनेका छन् । कर्मचारीतन्त्र बढी भयो भन्ने आवाज उठिरहँदा झन् अहिले मन्त्रालय नै नेतृत्व विहीन हुँदा कर्मचारीलाई हाईसञ्चो छ । उनीहरु काम नहुँदा घाम ताप्ने र मोबाईल चलाएर नै समय व्यतित गरेका छन् ।

मन्त्रीपछिको सेकेण्ड मेन रहेका सचिवहरुबाट पनि सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन ।
देशको कुनाकाप्चाबाट समस्या लिएर आएका सेवाग्राहीहरु मन्त्रालयमा मन्त्री नहुँदा थप समस्यामा परेका छन् । मन्त्रालयमा बसेर योजना तर्जुमा,विकासे कामलाई ताकेता गरेर योजनालाई गति दिनु पर्नेमा मन्त्रीनै नभएपछि सबै योजना अलपत्र अवस्थामा छ । राजनीतिक दाउ पेच र सत्ता स्वार्थले देश अस्थितरता तर्फ धकिलिदै छ भने त्यसको मारमा जनता पिल्सिरहेको छ ।

अहिलेसम्मका नजिर हेर्दा राजनीतिमा योग्यता भन्दा भागबण्डा झाँगिदै गएको देखिन्छ । सत्ता टिकाउनका लागि जसलाई पनि टपक्कै टिपेर मन्त्री बनाउने शैलीले यसको गरिमा मात्रै हैन, सेवा प्रवाह पनि थप कमजोर बन्दै गएको छ । एमालेसँगको सत्ता उल्टाएपछि कांग्रेस, नेकपा एकीकृत समाजवादी र अन्य साझेदार दलहरु यतिबेला मन्त्री बन्न लुछाचुडी गरिरहेकाछन् । कांग्रेसमा सभापति देउवा र महामन्त्री गगन थापा बाहेक नाम चलेकै नेताहरु सरकारमा जान खुट्टा उचालेर बसेकाछन् । माधव नेपालको १० सिटे समाजवादीले पनि गृहमा च्याखे हानेको छ ।

एकातिर मन्त्रालयमा मन्त्री नभएर सिंहदरबार सुनसान हुँदा एकाध महिनामा सरकार फेरिनु अस्थिर राजनीतिको संकेत हो । ०६४ मा २३८ सिट जितेर सरकारको नेतृत्व गरेको माओवादी अहिले खँुम्चिदै ३२ सिटमा खुम्चिएको छ । हिजोका प्रचण्डका मुख्य सहयात्रीहरु यतिबेला तितरवितर नै भइसके । पार्टी फुटेर सानो आकारमा आइपुग्दा पनि प्रचण्डको हालीमुहाली कम छैन । सत्तामा टिकिरहने युक्ति जानेका प्रचण्ड सत्ता जोड घटाउमा भन्दा माथि उठ्न नसक्दा जनताको दैनिकी कष्टकर बनिनै रहेको छ ।