Breaking

मेरो लागि प्रधानमन्त्री पद ठूलो कुरा हैन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो: प्रचण्ड


काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताएका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ । राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले गत पुस २६ को प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले गत पुस २६ मा बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको धारणा राखे । उनले भने,अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद् पुनःसस्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ ।

राष्ट्रपति पदका उम्मेदवार पौडेललाई आठ दलको मात्र होइन १० दलको समर्थन रहेको बताउँदै उनले स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको स्पष्ट पारे । उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ प्रधानमन्त्री दाहालले भने, नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ । हामी अहिले पनि राजनीतिक सङ्कट र चुनौतीकै बीचमा छौँ । प्रधानमन्त्री दाहालले भने, पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाइ अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैँमा राष्ट्रिय सहमतिको आधार थियो । बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ ।

तपाईं र म मिलेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ । उनले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको बताए । हामीसँग विगतका तीता अनुभव छन् । राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो । तर, विगतमा त्यस्तो भएन प्रधानमन्त्री दाहालले भने, “यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको निष्ठावान नेता पौडेललाई उम्मेदवार बनाएका छौँ। उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।