Breaking

ओली मजाकमा, देउवा हाँसीमजाकमा, ओलीलाई देउवाको चिठ्ठी, एमाले–काँग्रेस सहकार्य कति नजिक ?


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गुमाउनुको पीडामा छन् ।काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिसमेत पाएर सत्ताको अवसरमा फर्किएका छन् । तर सरकारको नेतृत्वमा पुगिहाल्ने देउवाको चाहना भने तत्कालै सम्भव छैन । तथापी सरकारको नेतृत्व दिनेसम्मको संकेत गर्दै एमाले देउवालाई सन्देश दिन थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेको सत्ता समीकरण मजाक लागिरहेको छ । किनकि ३२ सिटे नेकपा माओवादी केन्द्रले टिक्न दिएको छैन । सत्ता राजनीतिमा कहिले मूल शक्ति, त कहिले निर्णायक शक्तिका रुपमा रहँदै आएको माओवादी केन्द्र यो निर्वाचनबाट फेरि मुल शक्ति बन्दै सरकारको नेतृत्वमा छ ।

निर्णायक मतभारका साथ सत्ता राजनीतिको मूल शक्तिका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली–देउवा दुवैलाई मिलाई मिलाई थाङनामा सुताइरहेका छन् । यसपटक थुङनामा सुत्ने पालो भने एमाले अध्यक्ष ओलीको छ । यसैकारण उनलाई मजाक लागिरहेको छ । दोस्रो ठूलो शक्तिका अध्यक्षलाई झण्डै एकतिहाई परको शक्तिले घुमाउँदै फिराउँदै उचाल्ने र पछार्ने काम गरेपछि मजाक लाग्नु स्वभाविक जस्तै हो ।

एक्कासी अवसरका रुपमा आएको सत्ताशक्ति दुई महिनाकै अवधिमा खोसिएपछि ओली रक्षात्मक बनेका छन् । तर नयाँ बनेको आठ दलीय गठबन्धनमा हाँसीमजाक चलिरहेको छ ।राष्ट्रपतिको उम्मेदवार बन्न पाएपछि हतारिएका रामचन्द्र पौडेल, फेरि देउवाकै कित्तामा पुग्न पाएपछि हौसिएका प्रचण्ड र प्रचण्ड पाएपछि हाइसुक्क बनेका देउवाबीच हाँसीमजाक चलेको छ ।

देउवा, प्रचण्ड, रामचन्द्र र माधव नेपाल हातमा हात जोडेर हिडिरहेका छन् । मधेशका महन्थ र उपेन्द्रहरु अघिपछि गर्दै आफ्नो भूमिका पनि छ है भन्दै स्थान खोजिरहेका छन् । तर एक्लिएको एमालेबाट ओली एक्लै हिडिरहेका छन् । यो खाले परिवेशमा अहिलेको राजनीतिक कोर्ष करेक्शन भएपछि जसरी पुस १० मा एमाले फाइदामा चढेको थियो । अहिले त्यसको अवसर काँग्रेसलाई मिलेको छ । फलतः प्रचण्डको तारिफ गर्नु काँग्रेसका लागि कार्यभार जस्तो बनेको छ ।

राष्ट्रपतिमा सुरक्षित भएलगत्तै देउवाका लागि सरकारको नेतृत्व गर्ने समय पनि आउँदैछ । राष्ट्रपतिको निर्वाचनसम्म जुसुकै होस्, त्यसपछि हेरौंना, प्रचण्ड कसरी सरकारकै नेतृत्वमा रहन्छन् भन्ने ठोकुवा एमाले गर्न थालेको छ । फेरि देउवाले मंगलबारमात्रै एमाले अध्यक्ष ओलीलाई चिठ्ठी पठाएका छन् । राष्ट्रपतिको निर्वाचनमा भोट दिन आग्रह गर्दै देउवाले पत्र पठाएपनि, त्यसमा विगतका तीता मिठा भूलेर सहमति र सहकार्यमा जानुपर्ने सन्देशसमेत दिइएको छ । जबकि केही दिनअघिमात्रै १७ जनालाई चिठ्ठी पठाएका ओलीले काँग्रेस र यसका सभापति देउवालाई छुटाएका थिए । माधव नेपाललाई समेत नजिक ल्याएर मौका पर्खिरहेको एमालेले प्रचण्डलाई पाखा लगाउन काँग्रेससँग पनि सहकार्य गर्न तयार रहेको सन्देश दिन थालेको छ ।

पुस १० को सहमति तोड्दै काँग्रेसको कित्तामा उभिएका प्रचण्डले आफुलाई अकास्मात धोका दिएको विषयप्रति एमाले क्रुधछ । काँग्रेसलाई सहमतिमा ल्याएर प्रचण्डसँग बद्ला फेर्न जुनसुकै हदमा जानसक्ने उसको तयारीले राष्ट्रपतिको निर्वाचन लगत्तै देउवालाई सरकारको प्रस्ताव गर्नसक्ने संकेत मिलेको छ । किनकि संवैधानिक परिषद्देखि संसद्सम्मै एमाले नभएर बहुमत पुग्ने अवस्था छैन ।संवैधानिक परिषद्का ६ सदस्यमध्ये ओली नै स्पष्ट बहुमतमा छन् ।

यसले सरकारमा पुगेपनि एमालेविहिन तरिकाले कार्यसम्पादन गर्न सहज हुनेछैन । यसलाई प्रचण्डलाई सरकार चलाउनै संकट ल्याउने छ । सत्ताको प्रखाइमा रहेका देउवा अवसर नै आए पछि नहट्ने मूडमा रहेको बुझेपछि नै एमाले थप गृहकार्यमा रहेको नेताहरु ने बताउन थालेका छन् । यसले लगत्तै नभएपछि राष्ट्रपतिको निर्वाचनपछि देउवाले प्रचण्डलाई चक्मा दिनसक्ने सम्भावना बलियो बनेर आएको छ ।