Breaking

भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर


काठमाडौँ —भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो । प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ११ जना दोषी ठहर भएका छन् ।

सजाय भने २५ फागुनमा सुनाइने भएको छ । उक्त मुद्दामा भोजबहादुर पोखरेल, अशोककुमार भट्टराई र टंकप्रसाद शर्माले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।