खेलकुद

विश्वकप क्रिकेट लिग-२: पीएनजीले युएईलाई १ सय ३१ रनले हरायो


कठमाडौँ — आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक सिरिजमा पिएनजीले जित निकालेको छ । पिएनजीले मंगलबार दुबईमा भएको खेलमा घरेलु टिम युएईलाई १३१ रनले पराजित गरेको छ । पिएनजीले दिएको २६३ रनको लक्ष्य पछ्याएको युएई ३४.२ ओभरमा १३१ रनमा अलआउट भयो । युएईका लागि ओपनर मोहमद वासिमले २४ रन जोडे । वृत्य अरविन्दले २३ रन र आसिफ खानले २० रन बनाए भने जाहूर खान २३ रन जोडेर आउट भए । बलिङमा पिएनजीका चाड सोपरले ५ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ५ बल खेल्न बाँकी छदा २६२ रनमा अलआउट भयो। पिएनजीका लागि ओपनरद्वय टोनी उरा र किपलिङ डोरिगाले क्रमशस् ५१ रन र ४२ रन जोडे । सेसे बाउले ७४ रन र कप्तान असद भालाले २३ रन बटुले । बलिङमा युएईका कार्तिक मेइयाप्पनले ४ विकेट र आर्यन लक्राले ३ विकेट लिए । सिरिजमा नेपालले बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ । युएई २९ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा छ । छैटौं स्थानको नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । पुछारको ‍पिएनजीको ३० खेलबाट ७ अंक छ । नेपालले शीर्ष तीनमा पर्न ६ खेल र एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नु पर्नेछ । नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ ।