Breaking

बन्दीले गरे राष्ट्रसंघको मानव अधिकार परिषद बैठकमा नेपालको प्रतिनिधित्व


काठमाडौँ – स्वीजरल्याण्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको ५२ औं बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

यही कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुन जाने तयारीमा रहेको बेला प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा उनको भ्रमण रोकेका थिए । प्रधानमन्त्रीले मन्त्रीहरुलाई गर्ने व्यवहार ठिक नभएको भन्दै नेकपा एमालेले सरकारबाट बाहिरिंदै समर्थनसमेत फिर्ता लिएको छ ।

पूर्वकानुनमन्त्री कोइराला सोमबार बिहान जेनेभा पुगेका थिए । उनलाई जेनेभास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत मणिप्रसाद भट्टराई, संयुक्त राष्ट्रसंघको कार्यालय र अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालका स्थायी प्रतिनिधि तथा नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।

कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल पनि परिषद बैठकमा सहभागी हुन जेनेभा पुगेका छन् ।

सोमबार दिउँसो परिषदले युवा रणनीति २०३० सँग सम्बन्धित छलफल कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटाले सम्बोधन गरेका थिए ।

कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । मानव अधिकार परिषदको ५२ औं बैठकमा १२५ भन्दा बढी देशका मन्त्री र विशिष्ट व्यक्तिहरु सहभागी छन् । बैठक ४ अप्रिल (फागुन २० गते) समापन हुनेछ ।